जनगणनाका लागि तालीम शुरु

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो । तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए ।

तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहेका छन् । उनले विराटनगरमा १० जिल्लाका १७१ र भद्रपुरमा ८५ जनालाई तालीम दिइरहेको बताए ।

उनका अनुसार प्रदेशस्तरीय मुख्य प्रशिक्षण तालीम यही चैत ९ देखि १५ गतेसम्म चल्ने, स्थानीय जनगणना अधिकारीलाई चैत १९ देखि २५ गतेसम्म प्रदेशस्तरीय तालीम प्रदान गरिनेछ । तालीम प्राप्त प्रशिक्षक अर्थात् उनीहरुबाट नै सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ सम्म र गणकलाई वैशाख १७ देखि २२ गतेसम्म जिल्लास्तरीय तालीम प्रदान गरिने बताए ।

राष्ट्रिय जनगणना २०७८ देशभरका नेपालीको घरदैलोमा निश्चित समयभित्र पुगी सबै घर, अक्सर बसोबास गरेका परिवार तथा व्यक्तिहरूको विवरण सङ्कलन र सङ्कलित विवरण प्रशोधन एवम् प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा जनगणना १९६८ देखि शुरु भएको हो । विसं २०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशको सङ्घीय संरचनापछिको पहिलो जनगणना हो ।

You might also like

Comments are closed.