तालिमपछि आत्मनिर्भर बन्दै महिला

इनरुवा । कोसी गाउँपालिका–५ का महावतीदेवी सदाले चार/पाँचवटा बाख्रा पाल्दै आए पनि यसबारे खासै अनुभव नहुँदा उनलाई समस्या हुँदै आएको थियो । बाख्रामा लाग्ने रोगबारे थाहा नभएको र रोग लागे पनि त्यसको लक्षण पहिचान गर्न कठिनाइ हुँदै आएकामा अब सदा यस विषयमा पूर्णरुपले जानकार भएकी छिन । सोही वडाकी परमेश्वरीदेवी सदालाई पनि बङगुर पालनमा खासै अनुभव थिएन । उनले दुई/चारवटा बङगुर पाल्दै आए पनि पाल्ने तरिका र तिनमा लाग्ने रोगबारे थाहा नहुँदा खासै आम्दानी लिन कठिन हुँदै आएको थियो ।

अब परमेश्रीलाई कुन जातको बङगुर पाल्ने, तिनलाई कसरी दाना दिने र रोग लागेमा कहाँ लगेर कसरी उपचार गराउनेजस्ता विषयमा जानकारी भएकाले व्यावसायिकरुपमा बङगुर पाल्न हौसला मिलेकोे छ । त्यसैगरी कुन्तीदेवी मेहतालाई पनि कुन बेला कुन तरकारी खेती गर्ने र तिनमा के कस्ता मलखाद दिने भन्नेबारे खासै ज्ञान नहँुदा जे जति तरकारी फल्थ्यो त्यसमै चित्त बुझाउनुपथ्र्यो। उनी पनि अहिले यस विषयमा पूर्ण जानकार भएर व्यावसाहिकरुपले खेती गर्न थाल्नु भएको छ । उक्त वडाका यी तीन महिला उदाहरणका पात्र मात्र हुन् । सुनसरी जिल्लाको उक्त गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई तालिम दिएका कारण अहिले उनीहरु आफूले गर्ने व्यवसायमा जनकार भएका हुन् ।

गाउँपालिकाले महिलालाई लक्ष गरेर सञ्चालन गरेको सात दिने होटल, बङगुर पालन, बाख्रा पालन, तरकारी खेती र भुजिया बनाउने तालिमले यस क्षेत्रका महिला आत्मनिर्भर हुनाका साथै आफैले पनि व्यावसायिकरुपमा काम गरेर स्वरोजगार हुने अवसर सृजना गरेको स्थानीय सुनितादेवी कामैतले बताइन् । गाउँपालिकाको आर्थिक सहयोग र इटहरीस्थित महिला सीप विकास केन्द्रले गाउँमै गएर तालिम दिएकाले महिलालाई रोजगार बन्न सहज भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

यस्ता तालिमले आफूहरुलाई धेरै फाइदा भएको र आउने दिनमा तालिमलाई निरन्तरता दिनुपर्नेमा सोही गाउँ निवासी बबिताकुमारी मण्डलले जोड दिइन् । काम नपाएर तेसै समय बिताउँदै आएकामा यस्ता तालिम आयआर्जन गर्ने माध्यम बनेको स्थानीय सुनितादेवी कामतले बताइन् । तालिमका कारणले महिलालाई रोजगारी दिलाउनाका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुगेको तालिम लिएकी ललितादेवी सदाले जानकारी दिइन् । आगामी दिनमा महिलालाई लक्ष गरेर यस्ता किसिमका अन्य थप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताइन् ।

lcci
You might also like

Comments are closed.