समाजसेवामा अगुवा युनाइटेड क्लब

आर्थिक आवाज/पोखरा

संघसंस्था थुप्रै हुन्छन् । तिनका थुप्रै योजना र सपनाहरु हुन्छन् । तर समयचक्रसँगै ति योजना र सपनाहरु भुल्दै जान्छन् । अन्ततः नाम नै नामेट भएर कयौं संस्थाहरु विलय भएका कयौं उदाहरण छन् । तर पोखराको युनाइटेड क्लब भने आफ्नो स्थापना कालको योजना र सपनाहरु पूरा गर्दै अगाडि बढिरहेको छ । वि.सं २०६७ सालमा पोखरा अमरसिंहचोक वरपरका युवाहरु मिलेर बनाएको क्लब हो पोखरा युनाइटेड क्लब । शुरुमै “युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नारासहित स्थापित क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्दै आएको छ ।

स्थापना वर्षदेखी नै ‘पोखरा महोत्सव’ गर्दै आएकोे क्लबले त्यसबाट बचत भएको रकम सामाजिक काममा लगाउँदै आएको छ । क्लबले पछिल्लो समय पोखरा जुलोजिकल पार्क अर्थात खुल्ला चिडिया घर बनाईरहेको छ । जसमा प्रदेश सरकारले काँध थापेको छ । त्यस्तै क्लबले सेती नदी संरक्षणमा पनि योगदान दिदै आएको छ । सेती नदीमा फोहोरको डंगुर भएपछि क्लबकै खर्चमा पोखरा पृथ्वीचोकस्थित चाइनापुल क्षेत्रमा सरसफाई अभियान नै सञ्चालन गरेको क्लबले त्यहाँ सिसि क्यामरा जडान गरेर फोहर फाल्नेमाथी निगरानी बढाएको छ भने साँझ विहान होस् वा दिनदहाडै हुने लुटपाट र आक्रमण न्यूनिकरणका लागि पनि सघाएको छ । यसका लागि क्लबले पोखरा महोत्सवमा काटिने प्रत्येक टिकटबाट १÷१ रुपैयाँ छुट्याएको छ ।

युनाइटेड क्लब पोखरा अमरसिंहचोक वरपरका जुझारु युवाहरु मिलेर २०६६ साल चैत ७ गते गठन गरेको क्लब हो । तत्कालिन समयमा अमरसिंहचोकका राजेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको एक सय बढी युवाहरुको भेलाले युवा व्यवसायी हिमालय बख्रेलको अध्यक्षतामा ११ सदस्यीय संस्थापक कार्यसमिति चयन गरेको थियो । संस्थापक समितीको उपाध्यक्षमा राजेन्द्रबहादुर थापा, सचिवमा सुकबहादुर गुरुङ, सह सचिवमा सन्तोष सिग्देल र कोषाध्यक्षमा रवि शर्मा रहेका थिए । त्यस्तै सदस्यहरुमा सीमा गुरुङ (राई), सन्तोष कार्की, शान्ताबहादुर थापा, प्रतीक थापा मगर, स्वर्गिय दीपकमान गुरुङ र कृष्णबहादुर मगर रहेका थिए ।

संस्थापक कार्य समितिले वि.सं २०६७ बैशाख ७ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा क्लब दर्ता गरेको थियो । समाज र राष्ट्रका लागि केहि गरौं भन्ने उद्देश्यले स्थापित यस क्लबले छोटो समयमै सामाजिक कार्य गर्ने उद्देश्य लिएर महोत्सव गर्ने योजना बनायो । बैशाखमा विधिवत दर्ता भएको क्लबले सोहि वर्षको पुषमा पहिलो पोखरा महोत्सव शुरुवात गरेको थियो ।
पोखरा अमरसिंहचोकका युवाहरु समेटेर बनाइएको यो क्लब हाल अमरसिंहचोकमा मात्र सिमित छैन । क्लबले हाल पोखराका सबै ठाउँका युवालाई सदस्यता दिनेगरेको छ । क्लबमा हाल १ सय ५३ जना आजिवन सदस्यहरु आवद्ध छन् ।

युनाइटेड क्लबले स्थापना कालदेखिनै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित भएका जेहन्दार र गरिव वालवालिकालाई लक्षित गरी छात्रवृत्ति कोष स्थापना गर्दै आएको छ । कोषमा हालसम्म १० लाख जम्मा भइसकेको छ । यसमा हरेक वर्ष महोत्सवबाट बचेको आम्दानीको १५ प्रतिशत थप्ने गरिएको छ । सो कोषमार्फत क्लबले विभिन्न विद्यालयहरुमा पोशाक, शैक्षिक सामाग्री, कम्प्युटर जस्ता सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ । क्लबले कास्की र तनहँु जिल्लामा रहेका १२ वटा सरकारी विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको छ ।

क्लबले स्वास्थ्य क्षेत्रमा पनि योगदान दिदै आएको छ । क्लबले गरिव तथा असहायः विरामीलाई लक्षित गरी स्वास्थ्य कोष खडा गरेको छ । जसमा हालसम्म १० लाख जम्मा भइसकेको छ । यस कोषमा पनि क्लबले महोत्सवबाट प्राप्त बचत रकमको १५ प्रतिशत हरेक वर्ष थप्ने गरेको छ । सोहि कोषबाट क्लबले आर्थिक अभावका कारणले हस्पिटलको बेडमा आर्थिक अभाव झेल्दै मृत्युसंग जुधिरहेका विरामीहरुलाई हस्पिटलमै पुगेर आर्थिक सहयोग गर्दै आएको छ । नवौ पोखरा महोत्सव सम्म आइपुग्दा विभिन्न रोगका कारण अस्पतालको शैयामा पुगेका करिव दुइ दर्जन विरामीलाई आर्थिक सहयोग गरिसकेको छ भने दुर दराजमा रहेका ग्रामीण भेग जहाँ स्वास्थ्य सेवाको पहुँच नभएका आधा दर्जन गाउँमा प्रयोगशाला सहितको बृहत स्वास्थ्य शिविरहरु सम्पन्न गरिसकेको छ ।

क्लबले युवाहरुलाई कुलतमा लाग्न नदिनका लागी खेलकुदका गतिविधीहरु समेत सञ्चालन गर्दै आएको छ । क्लबले सेभेन ए साइड फुटवल प्रतियोगिता र राष्ट्रिय स्तरको बास्केटवल प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । प्रतियोगितासँगै पोखरा र आसपासमा हुने स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरुमा आर्थिक सहयोग र प्रवद्र्धकको रुपमा रही क्लबले काम गर्दै आइरहेको छ । क्लबले निकट भविष्यमा आफ्नै खेलकुद एकेडेमी सञ्चालन गर्ने समेत सोच राखेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत लोड सेडिङको मार र भित्री सडकहरुमा हुने बिकृतीहरुलाई न्युनीकरण गर्ने उद्देश्यले पोखराका विभिन्न टोलहरुमा १ सय ५० थान सौर्य बत्ती जडान गरेको छ । जसका कारण अमरसिंहचोक वरपरका क्षेत्र झलमल्ल भएको छ । तर अहिले लोडसेडिङ अन्यसँगै यो अभियान भने स्थगित गरिएको छ ।

क्लबले सामाजिक कार्य अन्तर्गत २०७२ साल वैशाख १२ गते गएको महा–भुकम्पमा परेकाहरुलाई खाद्यान्न वितरण गरेको थियो । क्लबले भुकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न विपद ब्यवस्थापन कोष समेत सञ्चालन गर्दै आएको छ ।

क्लबले पोखरामा पर्यटकीय गन्तब्य थप्न चिडियाखाना निर्माणको योजना ल्याएर अगाडि बढेको छ । यसका लागि शुरुमा चिडियाखानाको परिकल्पना गरिएपनि यसलाई अहिले पोखरा जुलोजिकल पार्क नाम दिएर पोखराको लेखनाथस्थित पचभैयामा खुल्ला चिडियाखानाको अवधारणा बनाएर काम गरिरहेको छ । पोखरा जुलोजिकल पार्क निर्माणका लागि महोत्सवबाट बचत भएको रकमको २० प्रतिशत कोषमा राख्ने गरिएको छ । हाल गण्डकी प्रदेश सरकारले पोखरा जुलोजिकल पार्कलाई प्रदेशको गौरव आयोजनाका रुपमा अगाडि बढाएको छ । वन्य जन्तु उद्धार केन्द्र निर्माणका लागि प्रदेश सरकारले १ करोड ५० लाख रकम निकासा गरिसकेको छ भने पोखरा जुलोजिकल पार्कको डिपिआर तयार गर्नका लागि थप १ करोड ५० लाख दिने बचन दिइसकेको छ ।यसरी क्लबले विभिन्न क्षेत्रमा योगदान दिदै आएको छ । क्लबले चाँडै नै असहायः, गरीब तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय खोल्ने योजनासमेत बनाएको छ । जहाँ धनीका छोराछोरी पैसा तिरेर पढ्छन् भने गरीब, असहायः तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्न पाउँछन् । यसका लागि वर्कआउट भइरहेको क्लबले जनाएको छ । यस्ता अनेकौं योजना र सपना बोकेर अघि बढिरहेको क्लबलाई सबैको सहयोगको जरुरी छ ।

You might also like

Comments are closed.