पोखरा, बैशाख १०
अपाङ्गता भएका बालबालिकाहरुको जीवन सहज बनाउनेका उद्धेश्यले पोखरामा पाँच दिने तालिम शुरु भएको छ । एडिलेन्टे नेदरल्याण्डको प्राविधिक सहयोग तथा हरियोखर्क अस्पताल पोखराको सहयोगमा अपाङ्गता भएका बालबालिकाको भाषा बोल्ने÷बुझ्ने (कम्युनिकेसन), खाने (इटिङ) र पिउने (ड्रिङ्किङ) सम्बन्धी तालिम शुरु भएको हो । हरियो खर्क अस्पताल पोखरामा शुरु भएको तालिमको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उद्घाटन गरे ।
शुक्रबारसम्म चल्ने तालिममा अपाङ्गता भएका बालबालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स, स्पिच थेरापिस्ट, अकुपेसनल थेरापिस्ट, सामाजिक स्वास्थ्य स्वयम्सेवीलगायत ३० जना सहभागि रहेको डा.खड्गबहादुर गुरुङले जानकारी दिए । अपाङ्गता भएका बालबालिका र उनीहरुका आमालाई सँगै राखेर प्रशिक्षार्थीहरुलाई प्राक्टिकल (अभ्यास)को माध्यमले उनीहरुको भाषा, रहनसहन्, संकेत बुझेर व्यवहार गर्नेबारे प्रशिक्षण दिइने उनले बताए ।
तालिममा अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्नेहरुलाई संसारभर तालिम दिदै आएको एडिलेन्टे संस्थाका ४ जना विशेषज्ञहरु मार्जो ह्याङ्कम्यान, मौरिल मुलर, चन्ताल स्केमेट्ज र सेसरिन पासम्यान्सले प्रशिक्षण दिदैछन् ।
Comments are closed.