किरियापुत्री भवन निर्माणका लागि सुनार परिवारको सहयोग

तनहुँ २० जेठ
व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि व्यास नगरपालिका–२ बैंक लाइन निवासी सुनार परिवारले आर्थिक सहयोग गरेको छ ।

यमबहादुर सुनार, तेजबहादुर सुनार र कृष्ण सुनारले स्व. बेदबहादुर र लुरी सुनारको पुण्यस्मृतिमा भवन निर्माणका लागि ५५ हजार ८ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । यमबहादुर र तेजबहादुर स्व. बेदबहादुर र लुरी सुनारका छोरा हुन् भने कृष्ण नाति हुन् ।

उक्त रकम यमबहादुर, तेजबहादुर र कृष्णले भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । दमौलीमा अत्यन्त आवश्यक रहेको किरियापुत्री भवनका लागि सहयोग गर्न आफूहरुलाई खुशी लागेको उनीहरुले बताए ।

भवन निर्माण समितिका संयोजक लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.