‘कृषि कार्यालय हटाएर भएको गल्ती सच्याउनुपर्छ’

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जिल्ला स्थित कृषि कार्यालय हटाउनु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाई तरकारी सुपरजोन कास्कीको सार्वजनिक सुनुवाई तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले जिल्ला स्थित कृषि कार्यालय हटाएर बाटो बिराएको र त्यो गम्भीर गल्ती भएको बताएका हुन् ।

अहिले २÷३ वटा जिल्लालाई हेर्नेगरी कृषि ज्ञान केन्द्र बनाउनु केन्द्रीकृत शासन प्रणालीकै रुप भएको बताउँदै उनले यसलाई सच्याउनुपर्ने बताए । उनले कृषि कार्यालय हटाउने निर्णय सच्याउन माग गर्दै प्रदेश र संघ सरकारसम्म जिल्ला समन्वय समिति पुगेको जानकारी गराए ।

प्रमुख क्षेत्रीले कृषिलाई आधुनिकीकरण गरेर उत्पादनमा फड्को नमार्ने हो भने वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले सार्थकता नपाउनेसमेत ठोकुवा गरे । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पोखरा भन्दा बाहिर जान नसकेको भन्दै आलोचना गरे ।

jutta mela

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दुर्गाप्रसाद दवाडीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विफल भए कृषि नै विफल हुने भन्दै यसलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिए । उनले कृषकले कर्मचारीलाई भ्रष्टीकरण बनाउने काम गरेमा यो परियोजनापनि पुरानै मोडलमा जाने र विफल हुने खतरा रहेको औंल्याए ।

कार्यक्रममा कृषकहरुले भने परियोजना अन्तर्गत योजना पार्दा नाताबाद, कृपाबाद हावी भएको आरोप लगाए । उनीहरुले झोले किसानले परियोजना पारेर अनुदान पचाएको पनि बताए । पोखरा बाटुलेचौरका किसान सुबास अधिकारीले बास्तबिक किसानले भन्दा झोले किसानलाई अनुदान दिइएको बताए । किसानसँग मिलेर कर्मचारीले अनुदानको आधा रकम खाएकोसमेत गम्भीर आरोप उनले लगाए ।

लेखनाथका सुदीप भट्टराईले हाइटेकले सिमित किसान लाभान्वित हुने भएकाले ग्रिन हाउसलाई फोकस गर्न सके धेरै किसान लाभान्वित हुने बताए ।

हेमजाकी भगवती बजगाईंले नाताबाद र कृपाबादका आधारमा परियोजना परेको वा अनुदान पाएको भए त्यो खारेज हुनुपर्ने बताए ।

लेखनाथका किसान धर्मदत्त पौडेलले परियोजना अन्तर्गत चलेका फर्महरुले आफ्नो क्षमताको २० प्रतिशतपनि उत्पादन गर्न नसकेको बताए । उनले अर्गानिक भनेपनि विविध कारणले शतप्रतिशत अर्गानिक नहुने भन्दै यसको न्यूनिकरणका लागि थप प्रयास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई तरकारी सुपरजोन कास्कीका प्रमुख वसन्तकुमार श्रेष्ठले परियोजना छनौट वा अनुदानमा नाताबाद, कृपाबाद नभएको दाबी गरे । उनले कहिंकतै बदमासी भएको भए कडा कार्वाही गर्ने चेतावनीसमेत दिए । उनले परियोजना सफलतातर्फ उन्मुख भएपनि सोंचेजस्तो गुणात्मक फड्को भने मार्न नसकिएको स्वीकारे ।

You might also like

Comments are closed.