काठमाडौं । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र वेलायतको विप्रेषण सेवा प्रदायक कंपनी रिज रेमिट लिमिटेड बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुरु भएको छ ।
यस सम्झौतासँगै युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले Riz Remit को मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा MBL REMIT मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सिधै जम्मा गर्न सकिन बैंकले जनाएको छ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत सेवाग्राहीले सहजरुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय विप्रेषणलाई सरल बनाउने लक्ष्यका साथ बैंकले सुरक्षित, भरपर्दो, छिटो र किफायती डिजिटल रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ । विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रकियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा दुवै संस्थाले गरेका छन् ।
बैंकले नेपालभर १५६ वटा शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।






Comments are closed.