ल्याण्डफिल साइटको विकल्प अझै तयार भएन

सन्देश श्रेष्ठ
पोखरा । पोखराको फोहोर फाल्न अर्को वर्षदेखि नया ल्याण्डफिल साइट सञ्चालन गर्नुपर्ने हो । तर हालको ल्याण्डफिल साइटको विकल्प अझै तयार भइसकेको छैन । जसले गर्दा अर्को वर्षदेखि पोखराको फोहोर कहाँ फाल्ने हो भन्नेबारे अझैसम्म टुंगो लाग्न सकेको छैन । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हाल सञ्चालनमा रहेको पोखरा–१४ स्थित ल्याण्डफिल्ड बन्द हुनेछ । विमानस्थल नजिक भएकाले हाल सञ्चालनमा रहेको ल्याण्डफिल साइट बन्द गर्नुपर्ने बाध्यता रहेको हो । तर पोखरा महानगरपालिकाले नया ल्याण्डफिल साइट खोज्नका लागि छलफल नै चलाएको छैन ।

नया ल्याण्डफिल साइट खोज्नेबारे सामान्य कुराकानी त भएको छ, तर गम्भीर छलफल भएको छैन,‘पोखरा महानगरपालिकाका ल्याण्डफिल ब्यबस्थापन शाखा प्रमुख नेत्रप्रसाद तिमिल्सिना भन्छन्,‘खोजि अब चाँडै शुरु गर्छौं ।’ हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट बन्द गर्नुपर्ने र नया खोज्नुपर्नेबारे महानगर जानकार छ । शाखा प्रमुख तिमिल्सिना भन्छन्,‘हो नया ल्याण्डफिल साइट चाहिन्छ भन्ने महानगरलाई राम्रोसँग थाहा छ, तर विविध कारणले यसमा गम्भीरतापूर्वक लाग्न सकेका छैनौं ।’ उनले पोखरा–३३ मा ल्याण्डफिल्ड बनाउनुपर्छ कि भन्नेबारेमा सामान्य कुराकानी भएपनि पोखरा–३३ को कुन ठाउँमा बनाउने ? सरकारी स्वामित्वको जग्गा छ कि छैन भन्नेबारेमा महानगर अनभिज्ञ छ ।

पोखरा–१४ मा हाल सञ्चालनमा रहेको ल्याण्डफिल्ड अबको १ वर्षमा बन्द हुनेछ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै ल्याण्डफिल साइट बन्द गर्नुपर्ने पोखरा महानगरपालिकालाई बाध्यता रहेको हो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको हाल ५४ प्रतिशत काम सम्पन्न भइसकेको छ । सन २०२० को डिसेम्बरसम्ममा विमानस्थल निर्माण कार्य सकिने सरकारले बताएको छ । निर्माण सम्पन्न भएलगत्तै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उसले भनिसकेको छ । यदि सरकारले भनेझैं सन २०२१ को शुरुवातबाटै विमानस्थल सञ्चालनमा आउने हो भने ल्याण्डफिल साइट पनि बन्द हुनेछ र नया ल्याण्डफिल साइट सञ्चालनमा आइसक्नुपर्नेछ । तर अहिलेसम्मपनि नया ल्याण्डफिल साइटको खोजि शुरु नहुँदा फोहोर ब्यबस्थापनमा समस्या निम्तिने हो कि भन्ने आशंका उब्जिएको छ ।

jutta mela

नया ल्याण्डफिल साइट खोज्ने प्रस्ताव ६÷७ वर्ष अघिदेखि नै आएको थियो । जतिबेला पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने कुरा अन्तिम अन्तिम चरणमा पुगेको थियो । तर कर्मचारीको भरमा चलेको तत्कालिन उप–महानगरपालिकालेपनि ठोस खोजि अघि बढाएन भने जनप्रतिनिधि आएपछि पनि यसको खोजि तदारुकताका साथ हुन सकेको छैन ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी भने ल्याण्डफिल साइटको विकल्पको खोजि नभएको भन्नेबारे अस्वीकार गर्छन् । हामी अध्ययनमै छौं, ‘प्रमुख जिसीले भने,‘विमानस्थल तयार भएसँगै हामीपनि हालको ल्याण्डफिल साइटको विकल्प तयार गरेर जाने कोशिष गरिरहेका छौं हामीले ।’ हामी फोहोरको अध्ययन गरिरहेका छौं,‘उनले थपे,‘त्यो अब १ महिना भित्रमा सिद्धिन्छ, त्यसपछि आवश्यक क्षमता अनुसारको वैकल्पिक ल्याण्डफिल साइट खोज्छौं ।’ अबको ३÷४ महिना भित्र हालको ल्याण्डफिल साइटको विकल्पमा नया ल्याण्डफिल साइट खोजिसक्ने उनले दाबी गरे । उनले विभिन्न विकल्पका बारेमा छलफल भइरहेको भन्दै अहिले ठाउँको नाम सार्वजनिक गर्न नमिल्ने तर्क गरे । भने,‘अहिले नै नाम भन्यो भने त फेरि नाराजुलुश शुरु भइहाल्छ नि ! त्यहि भएर हामीले आन्तरिक रुपमा वैकल्पिक ठाउँहरुको अध्ययन गरिरहेका हौं ।’ उनले नया ल्याण्डफिल साइट प्रविधीको प्रयोग गरेर फोहोरलाई मोहरमा परिणत गर्नेगरी रिसाइक्लिङ, बिजुली निकाल्नेसमेत कार्यका लागि सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरिरहेको बताए ।

पोखरामा हाल सञ्चालनमा रहेको ल्याण्डफिल साइट करीब २ सय रोपनीमा रहेको छ । पोखरा १४ बाच्छेवुडुवमा २०६१ सालदेखि सञ्चालित ल्याण्डफिल साईटमा फोहोर फाल्नका लागि ८० रोपनी, ट्रिटमेन्ट प्लान्टका लागि ३० रोपनी, मेडिकल वेष्ट ट्रिटमेन्ट कम्पोज्डका लागि १५ रोपनी र बाटो, सेनिटरीलगायत (बफरजोन)का लागि ७५ रोपनी प्रयोग गरिएको छ ।

अब नया ल्याण्डफिल साइट खोज्दा झण्डै ३ सय रोपनीको खोज्नुपर्ने शाखा प्रमुख तिमिल्सिनाले बताए ।

पोखरामा हाल दैनिक करीब २ सय टन फोहोर उत्पादन हुने गरेको छ । महानगरपालिकासहित कुनैपनि निकायसँगै यकिन तथ्याङ्क नभएपनि पोखराको स्थायी रुपमा बसोबास गर्नेले दैनिक १७१ टन र पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक तथा पाहुनाले २९ टन फोहोर गर्ने तथ्यांक शोधकर्ता शर्मिला भट्टराईको शोधमा उल्लेख छ । उनले सन २०१८ मा गरेको शोधमा दैनिक १ व्यक्तिले ३४० ग्राम फोहोर उत्पादन गर्ने उल्लेख गरेकी छन् । पोखराको जनसंख्या बृद्धिदरको यकिन तथ्यांक नै नभएकाले फोहोर उत्पादनको बृद्धिदरपनि ठ्याक्कै भन्न नसकिने उनको भनाई छ ।

पोखरामा उत्पादन हुने फोहोर मध्ये ६४.७४ प्रतिशत फोहोर कुहिने खालका छन् । नकुहिने र पुनः प्रयोग गर्नसमेत नमिल्ने फुटेका काँच, चाउचाउको खोललगायतको प्रतिशत भने २०.६९ रहेको छ । त्यस्तै पुनः प्रयोग गर्न मिल्ने फोहोर भने १४.५७ प्रतिशत रहेको भट्टराईको शोधमा उल्लेख छ ।

पोखरामा उत्पादन हुने २ सय टन मध्ये झण्डै आधा फोहोर मात्रै ल्याण्डफिल साइट पुग्ने गरेको ल्याण्डफिल ब्यबस्थापन शाखा प्रमुख नेत्रप्रसाद तिमिल्सिनाको दाबी छ । उनका अनुसार हाल दैनिक रुपमा ११० टन फोहोर ल्याण्डफिल साइट पुग्छन । बाँकी फोहोर मध्ये कुहिने फोहोर करीब २० टन घरमै कुहाएर मलको रुपमा प्रयोग गर्न थालिएको छ । झण्डै १५ टन फोहोर भने खोला खाल्सामै फालिने उनले बताए । अन्य पुनः प्रयोग हुने खालका प्लाष्टिकजन्य फोहोर भने कवाडीमार्फत संकलन भएर ब्यबस्थापन हुनेगरेको उनको भनाई छ ।

फोहोर ब्यबस्थापन गर्न सकेमा ल्याण्डफिल साइट पुग्ने फोहोर घटाउन सकिने उनले दाबी गरे । यदि जनता सचेत बनाउने र ठाउँठाउँमा फोहोर संकलन केन्द्र बनाएर कुहिने र नकुहिने अनि पुनः प्रयोग गर्ने भनेर छुट्याउँदै ब्यबस्थापन गर्न सके हाल उत्पादन हुने फोहोरको २० प्रतिशत मात्र ल्याण्डफिल साइट पुग्ने उनले बताए । त्यसका लागि सार्वजनिक, नीजि साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने उनको भनाई छ । यस मोडलमा गएर फोहोरबाट बिजुली, मललगायत उत्पादन गर्नेगरी अगाडि बढ्नुपर्ने उनले सुनाए ।

You might also like

Comments are closed.