वाइडवडीमा स्वर्गीय अधिकारी निर्दोष हुनुहुन्छ, जबज सबैले स्वीकारिसके : प्रधानमन्त्री

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा

सन्देश श्रेष्ठ
पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी काण्डमा तत्कालीन पर्यटन, नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी निर्दोष रहेको दाबी गरेका छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार पोखरामा उद्घाटन गर्दै उनले केही भुईंफुट्टा व्यक्ति तथा संस्थाहरुले अधिकारीको बद्नाम गर्ने उद्देश्यले संलग्नता नै नभएको वाइडवडी काण्डमा नाम मुछेको बताएका हुन् ।

रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अघिको प्रसङ्ग ल्याएर अधिकारीको बद्नाम गर्न कोशिष भएको उनको भनाई थियो । कुनै अदालतले फैसला नगरेको कुरामा दोषी छ भन्न पाइन्छ ? उनले भने, ‘केही असभ्य मानिसले, केही पूर्वाग्रही मान्छेले बद्नाम गर्ने उद्देश्यले उहाँको नाम लिएका हुन् ।’ उनले स्वर्गीय अधिकारी स्वच्छ आचरण भएको, स्वच्छ छवी भएको, कर्मठ, क्रियाशील व्यक्ति हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले केही भुईंफुट्टा व्यक्ति र केही भुईंफुट्टा संस्थाले आफूलाई पनि रवीन्द्र अधिकारी निर्दोष रहेको भन्नसमेत नदिएको बताए । ‘केही भुईंफुट्टा व्यक्तिहरु मिलेर एउटा तथाकथित संस्था गठन ग¥यो । अनि त्यसपछि निर्दोष छ भन्न पाइन्छ ? प्रधानमन्त्रीले त्यस्तो भन्न पाउँछ ? भन्छन्,’ उनले भने, ‘निर्दोषलाई निर्दोष भन्न किन पाईंदैन ? ।’ उनले थपे, ‘निर्दोषलाई निर्दोष भन्न नदिने को हुन् ती न्यायाधीश हुने ? ।’

jutta mela

प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र पुष्पलाल सबैभन्दा माथिको भएको बताए । पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेको र मदनले छिन्नभिन्न भएको पार्टीलाई एकताबद्ध बनाएकाले उनीहरुसँग अन्य नेताको तुलना नै हुन नसक्ने बताए । मदन भण्डारीले विश्वभरिनै कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको तथा अत्यन्तै रक्षात्मक स्थितिमा पुगेका बेलामा नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका निम्ति ठूलो भूमिको खेलेको उनले बताए । प्रधानमन्त्री ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादलाई नेकपामा सबैले स्विकारेको दाबीसमेत गरे । नेकपाले अहिले दुई तिहाई ल्याउने स्थिति बन्नुमापनि मदन भण्डारी र जबजको महत्वपूर्ण योगदान रहेको उनको भनाई थियो । मदन भण्डारी र उनले लिएको बिचार अंगाल्न नसक्ने कम्युनिष्ट हुन सक्दैन–उनले भने, ‘मदन भण्डारीको कामसँग, मदन भण्डारीको बिचारसँग, मदन भण्डारीले बोकेको जबजको बिचारलाई लिएर कुनामा बस्ने अनि कुरा काट्ने, फाल्तु गफ चुटेर विद्वान पल्टिने कम्युनिष्ट हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बिरोधीहरुले उचाल्नका लागि र आन्दोलनमा समस्या खडा गर्नका लागि उकासेको भरमा नफस्न नेताहरुलाई आग्रह गरे । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै उनले भने, ‘कम्युनिष्ट नेताहरु देश, जनता र पार्टीप्रति इमान्दार हुनुपर्दछ, त्यसलाई केन्द्रमा राखेर पद, प्रतिष्ठालाई ध्यान दिन थाल्यौं भने आन्दोलन नउठ्न सक्छ, मेरा ५४ वर्षे सकृय राजनीतिका आदर्शहरु यिनै हुन् ।’ केहि दिनअघी नेकपा अध्यक्ष प्रचण्डले १५ महिनापछि ओलीले सत्ता हस्तान्तरण गर्नेमा विश्वस्त छु भनेर भनेकोबारे सांकेतिक जवाफ फर्काउँदै उनले देश र जनताप्रति निष्ठाका साथ अगाडि बढेमात्र सफलता हात पर्ने अन्यथा फेरि यताउति दाउपेच गर्न थाल्यौं भने उद्धेश्य पूरा नहुने र सफलता हात नपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वर्गीय रवीन्द्र अधिकारीप्रति कास्कीले गर्व गर्नुपर्ने बताए । अधिकारी देश र जनतालाई सर्वोपरी मानेर विकास र समृद्धीका लागि ईमान्दारपूर्वक लागिराख्ने एक अथक कम्युनिष्ट योद्धा भएको बताए । अधिकारी पार्टीका बिरुद्ध, नेतृत्वको बिरुद्ध जथाभावी बोलेर बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो–उनले भने,‘कतिपयलाई लाग्नसक्छ पार्टीको निर्णयबिरुद्ध बोल्यो भने, पार्टीका नेतृत्वकाबिरुद्ध बोल्यो भने बिरोधीले उचालिदिन्छन, फुकेर बेलुन बनाईदिन्छन्, वाह ! विद्वान त यस्तो हुन्छ भनिदिन्छन्, हो क्यार भन्दै कुद्ने त्यो रोग र भ्रम रबिन्द्र अधिकारीमा थिएन ।’ उनले रवीन्द्रलाई २०३९ सालदेखि चिनेको तर कहिल्यै नमुस्काराएको नदेखेको बताए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा

तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नाममा प्रतिष्ठान गठन भएको छ । शनिबार पोखरामा आयोजित एक भव्य कार्यक्रमका बीच ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ घोषणा भएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको स्मृति पत्र सार्वजनिक गर्दै प्रतिष्ठान घोषणा गरेका हुन् ।

प्रतिष्ठानको अध्यक्षमा अधिकारी पत्नी विद्या भट्टराई रहेकी छन् । उपाध्यक्षमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, महासचिवमा रवीन्द्रका बालसखा तथा हितैसी मित्र धनराज आचार्य रहेका छन् भने उपमहासचिवमा दीपेन्द्र अधिकारी, सचिवमा पुष्पज्योति ढुंगाना र विमला पहारी छन् । ३५ सदस्यीय समितिमा राजनीतिक, सामाजिक, उद्योगी, व्यवसायीदेखि पत्रकारसम्मलाई सदस्यमा राखिएको छ । ४१ सदस्यीय सल्लाहकारमा रवीन्द्रका सहकर्मी नेता योगेश भट्टराईदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसम्म छन् ।

प्रतिष्ठानका लागि सरकारले एक करोड दिने भएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई एक करोड दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक विवादको थलो नबनाउन सुझाव दिए । प्रतिष्ठानलाई नाम मात्रैको प्रतिष्ठान नबनाई जीवन्त बनाउन सुझाव दिदै उनले भने, ‘राजनीतिक विवाद गर्ने थलोपनि नबनाउनुस्, बरु विवाद गर्न रुचाउनेहरु प्रतिष्ठानमा बस्दै नबस्नुस् ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिष्ठानले समृद्धीको यात्रामा सघाउने बताउँदै प्रतिष्ठानका लागि प्रदेश सरकार र नेकपा गण्डकीले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा अधिकारी पत्नी विद्या भट्टराईले प्रतिष्ठानले उद्यमशीलता र विकासका क्षेत्रमा काम गर्ने बताइन् । उनले समृद्धि र विकाससँगै प्रतिष्ठानले अनुसन्धानको क्षेत्रमा पनि काम गर्ने स्पष्ट पारिन् ।

सरकार, संघसंस्था,उद्योगी, व्यवसायी, विभिन्न व्यक्ति तथा परिवारका सदस्यहरुबाट संकलन गरेर कोष निर्माण गर्ने तयारी गरिएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हालसम्म कोष जम्मा भइसकेको छैन ।

You might also like

Comments are closed.