विदेश जान चाहने विद्यार्थीले मेला छुटाउँदैनन्

रुद्रप्रसाद अर्याल
सचिव, इक्यान कास्की

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले मंसिर २६ देखि २८ गतेसम्म पोखराको सहभागृहहलमा छैटौं संस्करणको इक्यान शैक्षिक मेला आयोजना गरेको छ । मेलाका बारेमा केन्द्रित रहेर इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालसँग आर्थिक आवाजले गरेको कुराकानीः

इक्यान फेयरको तयारी कस्तो छ ?
इक्यान फेयरको सम्पूर्ण तयारी पूरा भएको छ । स्टलहरु बनाइसकिएको छ । ती सबै स्टलहरु बुकिङ भएर सबैमा शैक्षिक परामर्श दिने सम्बन्धित एजुकेसन कन्सल्टेन्सी तयारी अवस्थामा छ । मञ्च तयार भइसकेको छ । अब उद्घाटन गर्न मात्र बाँकी छ । प्रचार–प्रसार पनि राम्रो भएको छ । मलाई लाग्छ पोखरासहित कास्कीका सबै सर्वसाधारणले इक्यान फेयर बारे जानकारी पाइसक्नुभएकोछ । उहाँहरु पनि आउन आतुर हुनुहुन्छ भन्ने मलाई लागेको छ ।

इक्यान फेयरमा कस्ता–कस्ता स्टल रहन्छन् ?
इक्यान फेयरमा सबै शैक्षिक परामर्शसँग सम्बन्धित स्टलहरु मात्र रहन्छन् । जहाँबाट विद्यार्थी र अभिभावकले वैदेशिक शिक्षाबारे जानकारी लिन सक्नुहुनेछ । इक्यान फेयरका लागि हामीले पेभेलियन र ननपेभेलियन स्टलहरु बनाएका छौं । सबै गरेर ७० वटा स्टलहरु रहेका छन् । प्रायः सबै स्टलहरु ठूला र फराकिला छन् ।

jutta mela

इक्यान फेयर गर्नुको उद्देश्य के हो ?
नेपाल शैक्षिक परामर्श संघले देशभरी नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यस मध्येको यो इक्यान फेयर पनि एक हो । विशेष गरेर गण्डकी प्रदेशमा रहेका विद्यार्थी तथा अभिभावकहरुलाई वैदेशिक शिक्षाबारे शैक्षिक परामर्श दिनका लागि हामीले इक्यान फेयर गरेका हौं । विद्यार्थी र अभिभावकहरु विदेशमा होस् वा स्वदेशमा । कहाँ के कस्तो शिक्षाको अध्यापन हुन्छ ? कुन विषय अध्ययन गर्दा उपयुक्त हुन्छ । त्यसको भविष्य कस्तो हुन्छ । कुन देशमा अध्ययन गर्न जाँदा त्यसको प्रोसेस कसरी गर्ने भन्नेबारेमा अनभिज्ञ हुन्छन् । हो त्यसैको जानकारी गराउने थलो इक्यान भएकाले यो फेयर विद्यार्थी र अभिभावकका लागि एकदमै राम्रो अवसर हो ।

इक्यान फेयरका प्रमुख विशेषताहरु के–के हुन् ?
इक्यान फेयरको प्रमुख विशेषता भनेको एउटै छानामुनी इक्यान कास्कीसँग आबद्ध शैक्षिक परामर्शदाता संस्थाहरुले शैक्षिक परामर्श दिनु हो । हुन त कास्कीमै रहेको शैक्षिक परामर्शदाता संस्थाहरुले त हो नि इक्यान फेयरमा पनि परामर्श दिने भन्ने लाग्ला । तर कुनै विद्यार्थी वा अभिभावक कुनै एउटा शैक्षिक परामर्शदाता संस्थामा गएर परामर्श लिनु भनेको त्यो संस्थाले दिने सेवाको मात्रै जानकारी लिनु हो । तर यो फेयरमा एकै थलोमा विद्यार्थी र अभिभावकले कास्कीमा रहेका प्रायः सबै शैक्षिक परामर्शदाता संस्थाहरुको स्टलमा गएर तिनले दिने सेवाका बारेमा जानकारी लिन पाउनुहुन्छ । त्यतिमात्र होइन, यो फेयरका लागि भनेर ति शैक्षिक परामर्श संस्थाहरुले आफूले पठाउने देशमा रहेका कलेजका प्रोफेसर लगायतका विज्ञहरुलाईसमेत बोलाएर काउन्सिलिङ गर्दैछन् । त्यसैले यो एउटा सुवर्ण अवसर हो विद्यार्थी र अभिभावकका लागि ।

कुनै शैक्षिक परामर्शदातृ संस्थामा जानु र फेयरमा गएर परामर्श लिनुमा के फरक हुन्छ ?
बास्तवमा हामीले इक्यान फेयरबाट दिने भनेको शैक्षिक परामर्श हो । यहाँबाट अरु काम गर्ने होइन । नितान्त शैक्षिक परामर्श दिएर विद्यार्थी र अभिभावकलाई कुन देशमा कस्तो शिक्षा दिइन्छ । ती देशका कलेज तथा युनिभर्सिटी कस्ता कस्ता छन् ? तिनको शिक्षा कस्तो हुन्छ ? विदेशमा होस् वा स्वदेशमा त्यसको भविष्य कस्तो हुन्छ ? यस फेयरमा शैक्षिक परामर्शदाता संस्थाले खुल्ला प्रतिष्पर्धाबाट काउन्सिलिङ गर्छन् । यसको मतलव यसले कसले राम्रो परामर्श दिने भन्ने भएकाले पक्कै पनि राम्रो भइहाल्छ । यसले शैक्षिक परामर्शदाता संस्थालाई अझ सबल तथा स्वच्छ बन्नका लागि मद्दत पनि गर्छ । यसले विद्यार्थी र अभिभावकलाई धेरै फाइदा हुन्छ । एउटा संस्थामा जाँदा एउटा संस्थाको बारेमा मात्र थाहा हुन्छ । अझ भनौं त्यस संस्थाले दिने सेवा मात्रै थाहा हुन्छ । तर इक्यान फेयरमा आउँदा एउटै थलोमा धेरै भन्दा धेरै शैक्षिक परामर्शदाता संस्थाबारे जानकारी लिने, तिनले दिने शैक्षिक परामर्श लिने अवसर पाइन्छ । यसमा विद्यार्थी र अभिभावकलाई कन्सल्टेन्ट चुज गर्ने कसरी हो ? कस्तो खालका कन्सल्टेन्ट राम्रो हुँदो रहेछ ? विदेश जाँदा के–के प्रक्रिया पूरा गर्नुपर्दो रहेछ ? विदेश जाँदा के–के कुराहरु बुझेर जानु पर्दो रहेछ भन्नेबारेमा पनि जानकारी पाउन सकिन्छ ।

फेयरका लागि विदेशबाट पनि सम्बन्धित कलेजका प्रतिनिधिहरु आउँदैछन् कि ?
सर्वप्रथमत शैक्षिक परामर्शदाताहरु हामी आफैमा आधिकारिक व्यक्ति हौं । हामीलाई सम्बन्धित देशको कलेज वा विश्वविद्यालयले अथोराइज्ड गरेको हुन्छ के–के इन्फरमेसन दिने भनेर । त्यो हामीले शैक्षिक परामर्शदाता संस्थाबाटै दिइरहेका हुन्छौं । तर यो इक्यान फेयरमा चाहीं विदेशबाट सम्बन्धित कलेजका फाउण्डरहरु, प्रोफेसरहरु, मार्केटिङ हेड तथा कलेज र विश्वविद्यालयका प्रतिनिधिहरु आएर परामर्श दिने गर्छन् । यसले पक्कैपनि विद्यार्थी र अभिभावक बढी भन्दा बढी लाभान्वित हुनेमा शंकै रहेन । यो एउटा महत्वपूर्ण अवसर हो ।

फेयरबाट विद्यार्थी र अभिभावक कसरी लाभान्वित हुन्छन् ?
एउटै छानामुनी धेरै देशका कलेजहरुबारे जानकारी लिनसक्ने एउटा महत्वपूर्ण अवसर हो विद्यार्थीका लागि । उनीहरुले आफू जाने देश र ती देशका कलेजहरुबारे जानकारी लिन पाउँछन् । ती देशका कलेजमा अध्ययन हुने विषयको भविष्यबारे परामर्श लिन सक्छन् । त्यतिमात्र होइन, विदेशका ती कलेजहरुमा अध्ययनका लागि जाँदा अपनाउनुपर्ने भिसा प्रोसेसहरु, त्यहाँ गइसकेपछि आउनसक्ने समस्याहरु, ती समस्या समाधानका लागि के गर्नुपर्छ ? भन्नेबारेमा पनि जानकारी लिएर भविष्यमा पर्नसक्ने खतराबाट जोगिनका लागि तयारी गर्न पाउँछन् । यसले विद्यार्थीको भविष्य उज्वल बनाउन र अभिभावकलाई हुनसक्ने जोखिमबाट पार पाउनका लागि सहयोग मिल्छ । त्यस्तै कुन कन्सल्टेन्सी कस्तो हो ? भन्नेबारेमा बुझ्ने मौका पनि हो यो इक्यान फेयर । इक्यान मेम्बरहरुबाटै शैक्षिक परामर्श लिदा विद्यार्थीको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देशपनि यसले दिन्छ ।

फेयरमा विद्यार्थी र अभिभावकको आकर्षण कस्तो रहन्छ ?
विद्यार्थी र अभिभावकका लागि शैक्षिक परामर्श दिने उद्देश्यले आयोजित इक्यान फेयरको आकर्षण राम्रो हुनेछ । जो विद्यार्थी अध्ययनका लागि विदेश जान चाहन्छन् वा जो अभिभावक आफ्नो छोराछोरीलाई अध्ययनका लागि विदेश पठाउन चाहन्छन् उनीहरु सबै इक्यान फेयरमा आउँछन् । यसको मतलब इक्यान फेयरमा उनीहरुको आकर्षण छ । यो व्यावसायिक र मनोरञ्जनात्मक इभेन्ट नभएकाले लक्षित समूह भन्दा बाहिरबाट भने कम आउँछन् । तर विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकहरुले भने इक्यान फेयर छुटाउँदैनन् ।

प्रवेश निःशुल्क गर्नु भएको रहेछ किन ?
इक्यान फेयरको प्रवेश निःशुल्क छ । यो व्यावसायिक मेला होइन । यसबाट नाफा कमाउने उद्देश्य हाम्रो छैन । नितान्त विद्यार्थी र अभिभावक लाभान्वित हुन् भनेर हामीले यो आयोजना गरेका हौं । त्यसैले टिकट नराखेका हौं ।

You might also like

Comments are closed.