नेपाल वितरक संघ र २५ वर्षको व्यावसायिक यात्रा

प्रेमहरि मैनाली अध्यक्ष, नेपाल वितरक संघ

‘उद्योगी, आयातकर्ता, वितरक र थोक तथा खुद्रा व्यापारीहरू व्यावसायिक यात्राका महत्वपूर्ण सारथीहरु हुन् । एकअर्काको अस्तित्व र सहकार्य बिना बजार विस्तार र आपूर्ति प्रणाली सम्भव नै छैन ।’

कुनैपनि देशको अर्थतन्त्रलाई गतिशील बनाउन, स्वदेशी तथा विदेशी उत्पादनहरूलाई कुना–काप्चासम्म पु¥याउन र बजारमा आपूर्ति व्यवस्था चुस्त राख्न वितरकहरूको भूमिका मेरुदण्ड सरह हुन्छ । उद्योगीले उत्पादन गरेका वा आयातकर्ताले ल्याएका सामान उपभोक्ताको भान्सा र दैनिक जीवनसम्म सहजै पुग्ने वातावरण वितरकहरूकै दिनरातको मिहिनेतले सम्भव भएको हो ।

वि.सं. २०५८ साउन २२ गते दर्ता भई संस्थागत औपचारिक यात्रा सुरु गरेको नेपाल वितरक संघ आज २५ वर्ष पुरा गर्दैछ । यसैक्रममा संघले आफ्नो गौरवशाली ‘रजत जयन्ती’ मनाइरहेको छ । केवल केही व्यवसायीहरूको पहलबाट सुरु भएको यो यात्रा आज करिब ६०० व्यवसायीहरूलाई प्रत्यक्ष आबद्ध गर्दै हजारौंलाई रोजगारी र राज्यको कोषमा अर्बौंको राजस्व योगदान गर्ने एउटा सशक्त छाता संस्थाका रूपमा स्थापित भएको छ । यसैक्रममा नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीसँग संघको २५ वर्षे यात्रा, वितरकहरूले भोगिरहेका वर्तमान चुनौती, बजार र उत्पादक–वितरक सम्बन्ध, ट्राफिक तथा बैंकिङ समस्या, र आगामी भावी योजनाहरूमा केन्द्रित रहेर आर्थिक आवाजका लागि गरिएको कुराकानी :

नेपाल वितरक संघ स्थापनाको २५औँ वर्ष पूरा गरी रजत जयन्ती मनाउने ऐतिहासिक मोडमा आइपुगेको छ । यस अवसरमा कस्तो अनुभव भइरहेको छ ?

सर्वप्रथम त सम्पूर्ण वितरक साथीहरू, संस्थापकहरू, पूर्व अध्यक्षहरू, उद्योगी–व्यवसायी, उपभोक्ता र शुभेच्छुकहरूमा रजत जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु । २५ वर्षको यो निरन्तर यात्रा हामी सबैको सामूहिक मिहिनेत, त्याग, समर्पण र सहकार्यको प्रतिफल हो । साधारण सदस्य हुँदै आज संघको ११औँ अध्यक्षका रूपमा रजत जयन्ती मनाउन पाउनु मेरो लागि अत्यन्तै गौरव र खुसीको क्षण हो ।

नेपालको अर्थतन्त्र र आपूर्ति प्रणालीमा वितरकहरूको वास्तविक योगदानलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वितरक भनेका आर्थिक रक्तसञ्चारका बाहक हुन् । उद्योगी वा आयातकर्ताले उत्पादन गरेका सामान थोक तथा खुद्रा पसलसम्म पु¥याउने, अर्डर कलेक्सन गर्ने, सामान डेलिभरी दिने र उधारो रकम असुली गरी बैंकिङ प्रणालीमा ल्याउने काम वितरकले नै गर्छन् । आज नेपाल वितरक संघमा मात्रै ६०० व्यवसायी आबद्ध हुनुहुन्छ भने देशभरी हजारौं व्यवसायी यस क्षेत्रमा सक्रिय हुनुहुन्छ । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँ मानिसलाई रोजगारी र स्वरोजगार बनाएको छ भने राज्यलाई वार्षिक अर्बौं रूपैयाँ राजस्व योगदान पु¥याएको छ ।

रजत जयन्तीको अवसरमा संघले कस्ता–कस्ता विशेष कार्यक्रमहरू आयोजना गर्दै छ ?

रजत जयन्तीलाई हामीले केवल उत्सवमा मात्र सीमित राखेका छैनौँ । यस अवसरमा संघको इतिहासमै पहिलो पटक ‘स्मारिका’ प्रकाशन गर्दै छौं । ‘वितरक यात्रा’ रजत स्मारिका संस्थाकोे महत्वपूर्ण दस्ताबेज बन्ने मैले विश्वास लिएको छु । यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, संस्थालाई यहाँसम्म ल्याउन योगदान पु¥याउनुहुने संस्थापकहरू, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरूलाई विशेष सम्मान गर्ने कार्यक्रमहरू तय गरेका छौँ ।

उत्पादन र बजारीकरणको क्षेत्रमा उत्पादक तथा आयातकर्ता र वितरकबीच कस्तो सम्बन्ध हुनुपर्छ ? अहिले के–कस्ता समस्याहरू देखिएका छन् ?

कम्पनीहरूले वितरकलाई केवल सामान बिक्री गर्ने माध्यमका रूपमा मात्र हेर्नु हुँदैन । उनीहरूलाई व्यावसायिक सहयात्रीको व्यवहार गर्नुपर्छ । अहिले धेरैजसो कम्पनीहरूले एकपक्षीय रूपमा बैंकिङ ग्यारेन्टी तान्ने (क्लेम गर्ने), मनोमानी सफ्टवेयरमार्फत ई–बिलिङको दबाब दिने र नमानेमा एकैछिनमा वितरक हटाउने जस्ता समस्याहरू देखिएका छन् । यसमा हाम्रो माग के छ भने, कम्पनीहरूले नयाँ वितरक नियुक्त गर्दा पुराना वितरकको अनापत्ति पत्र (एनओसी) अनिवार्य लिनुपर्छ । कम्पनी र वितरकबीचको व्यावसायिक सम्झौता सरल र दुवै पक्षको बराबर हैसियत हुने गरी हुनुपर्छ । बैंकहरूले हिसाब–किताब दुवै पक्षको मिलाइसकेपछि मात्र बैंकिङ ग्यारेन्टीसम्बन्धी प्रक्रियामा सहजीकरण गर्नुपर्छ ।

वितरकहरूले सडक र ढुवानीका क्रममा विशेष गरी ट्राफिक समस्या बढी भोग्नुपरेको गुनासो छ, यसको समाधान कसरी हुन सक्छ ?
हो, विशेष गरी एफएमसीजी अर्थात् दैनिक उपभोग्य वस्तुहरूको वितरणमा ट्राफिक व्यवस्थापन ठूलो चुनौती बनेको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ७ बजेसम्मको पिक टाइममा गाडीहरू रोकिँदा सामान डेलिभरीमा समस्या हुन्छ । यसका लागि हामीले सरकार र ट्राफिक प्रहरीसँग दुईवटा स्पष्ट प्रस्ताव राखेका छौं । पहिलो हो ‘वितरक स्टप’ । जसरी यात्रुवाहक बसका लागि बस स्टप तोकिएको हुन्छ, त्यसरी नै बढी जाम हुने व्यापारिक क्षेत्रहरूमा सामान अनलोड गर्न निश्चित ठाउँ र समय तोकेर वितरक स्टप छुट्याइनुपर्छ । दोस्रो हो, भित्री सडक र करिडोरमा छुट । मुख्य सडकहरूमा कार्यालय समयको नियम लागू गरिएतापनि कम्पनी तथा भित्री सडक र करिडोरहरूमा वितरकका गाडीहरूलाई निर्बाध रूपमा चल्न दिइनुपर्छ । तत्काल यति गर्न सक्दा पनि धेरै सुधार हुन सक्छ ।

तपाईंको कार्यकालमा संघले के–कस्ता गतिविधिहरू सम्पादन गर्यो र आगामी भावी योजनाहरू के–के छन् ?
मेरो कार्यकालमा हामीले सदस्यहरूको हकहितलाई पहिलो प्राथमिकतामा राखेका छौँ । कर, राजस्व तथा लेखा व्यवस्थापन तालिम, उच्च प्रविधियुक्त सफ्टवेयरसँग सहकार्य, बिमा अभिमुखीकरण र विपद् व्यवस्थापनका लागि बिमा कम्पनीहरूसँग सहकार्य गरेका छौँ । साथै, व्यवसायीहरूलाई कठिन समयमा सहयोग पु¥याउन ‘वितरक राहत कोष’को वृद्धि गरेका छौँ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशसहित काठमाडौँ, ललितपुर र भक्तपुर उद्योग वाणिज्य संघहरूसँग समन्वय बढाएका छौँ ।

त्यसैगरी, भावी योजनाहरूमा दस्यता वृद्धि र द्रुत सेवालाई प्राथमिकता राखिएको छ । छरिएर रहेका वितरकहरूलाई संघमा आबद्ध गर्दै उनीहरूका समस्याको तत्काल समाधान गर्ने काम भइरहेको छ र आगामी दिनमा पनि हुनेछ । सचिवालय आधुनिकीकरण गर्नेछौं । संस्थाको प्रशासनिक कामलाई थप चुस्त र डिजिटल बनाउनेछौं । त्यसैगरी स्थायी भवन निर्माण÷खरिदको योजनामा छौं । जुन योजना महत्वाकांक्षी पनि छ । संघको आफ्नै भवन हुनु संस्थाको स्थायित्व र सदस्यहरूको गौरवको विषय हो । यही कार्यकालभित्र भवन निर्माण वा खरिद गर्ने योजना बनाएको छौं । यसका लागि संस्थापक, पूर्व नेतृत्व, वर्तमान कार्यसमिति, सम्पूर्ण वितरक साथीहरू र शुभेच्छुकहरूसँग सहयोग र साथको अपेक्षा गरेको छु ।

अन्त्यमा, सम्पूर्ण व्यवसायी र सरोकारवालाहरूलाई के सन्देश दिनुहुन्छ ?
स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा वितरकहरूको योगदान अतुलनीय छ । राज्यले पनि यो क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुदृढीकरण गरिदिनुपर्छ । म सम्पूर्ण वितरक साथीहरूलाई गोलबद्ध भएर अगाडि बढ्न र उद्योगी–व्यापारीहरूलाई अझ प्रगाढ सहकार्यका लागि आह्वान गर्दछु । रजत जयन्तीको अवसरमा पुनः सबैमा हार्दिक शुभकामना एवं धन्यवाद व्यक्त गर्दछु ।

You might also like

Comments are closed.