सस्टेनेबल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौं अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा

सन्देश श्रेष्ठ
पोखरा । पोखरामा शुक्रबारदेखि सस्टेनेबल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौं अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । पर्यावरणमैत्री दिगो पशुपालनका बैज्ञानिक खोजबारे छलफल गर्ने उद्धेश्यले शुक्रबारदेखि शुरु भएको सम्मेलन सोमबारसम्म जारी रहनेछ । नेपाल भेटेरीनरी एशोसियसनको आयोजनामा भएको सम्मेलनको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले विश्वका पशुपालन सम्बन्धी अन्वेषण गरेका विज्ञहरुको सामुहिक छलफलले विकासोन्मुख देशका साना र मध्यमस्तरका पशुपालक किसानलाई दुरगामी फाइदा पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनबाट निस्केको निचोडलाई कार्यान्वनतर्फ लैजान आफूले भूमिका खेल्नेसमेत उनले प्रतिबद्धता जनाए ।

आफू पूर्व प्रधानमन्त्री मात्रै नभई कृषि विज्ञानको विद्यार्थीसमेत भएको बताउँदै प्रचण्डले कृषिको विकास र कृषि पेशामा आबद्ध हुनेको मनोविज्ञान बुझेकाले उनीहरुको हितका लागि लागि पर्ने बताए । उनले साना तथा मध्यम स्तरको कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउन सके त्यसले समृद्धीमासमेत सघाउने बताए । ठूलो द्वन्द्व र राजनीतिक संक्रमणबाट शान्ति प्रक्रियामार्फत नेपाल स्थायीत्वतर्फ बढेको छ,‘उनले भने,‘अहिले सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानपनि शुरु गरेकोछ, मलाई विश्वास छ यो अभियानलाई साना तथा मध्यम स्तरका कृषि पेशाले सघाउने छ ।’

jutta mela

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिलाई आधुनिकीकरण गर्दै चुस्त ब्यबस्थापन गर्न सके साना तथा मझौला कृषिबाटपनि देशको विकास र समृद्धिमा टेवा पुग्ने बताए । प्रदेश सरकारले साना तथा मझौला किसान लक्षित गरेर कार्यक्रम ल्याएको भन्दै आगामी दिनमापनि यसलाई प्राथमिकता दिने उनले बताए ।

सम्मेलनमा २५ देशका २ सय भन्दा बढी विदेशीसहित करीब ५ सय जना पशु कृषि वैज्ञानिकहरुको सहभागि रहेको छ । सम्मेलनमा अमेरिका, भारत, चीन, भियतनाम, भुटान, अष्टे«लिया, नेपाललगायतका देशहरुको सहभागिता रहेको नेपाल भेटेरनरी एशोसियसनका केन्द्रीय अध्यक्ष शितलकाजी श्रेष्ठले जानकारी दिए ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल गरी घोषणापत्र जारी गरिने एशोसियसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले जानकारी दिए । सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका किसानलाई पारेको असर र त्यसलाई न्यूनिकरण गर्न गरिने उपायहरुबारेमा पनि छलफल हुने उनले बताए । सम्मेलनमा १ सय ६१ वटा कार्यपत्र प्रस्तुत हुने श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.