कञ्चनपुरमा किसानका धान खरिद सुरु, समयमै खरिद नगर्दा मारमा परेको गुनासो

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ। यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए ।

कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए। “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “अहिलेसम्म एक सय ५१ क्विन्टल धान खरिद गरिसकेका छौँ भने बाँकी धान आउनेक्रम जारी छ ।” उनले सरकारले धानको मूल्य समयमै तोकेको भए पनि निर्वाचनलगायतका कारणले ढिलो भएको बताए।

यता किसानले भने आफूहरु विगतदेखि नै मारमा पर्ने गरेको गुनासो गरेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–६ का हरिकृष्ण भट्टले सरकारले समयमै धान खरिद नगर्दा किसानलाई भण्डारण गर्न समस्या हुने गरेको बताए। उनले सरकारले बिचौलियालाई निरुत्साहित गर्न पनि किसानको धान समयमै खरिद गर्नुपर्ने बताए।

त्यसैगरी अर्का किसान सेटसिंह रानाले सरकारले धान भित्र्याउने बेला नै धान खरिद गर्दा किसानलाई फाइदा पुग्ने बताए । कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमासमेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ। सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ । रासस

You might also like

Comments are closed.