काठमाडौं । आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू-भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
जसको कारण बिहान हवाई उडान समेत प्रभावित बन्न पुगेको थियो । तर अहिले मौसममा सुधार आएपछि उडान भने नियमित भएको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ ।
हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ ।
अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको छ । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका विभिन्न भू-भागमा हुस्सुरकुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । यसैगरी आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।
आउँदो २४ घण्टामा तराईका केही भू-भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने र देशका प्रायजसो भू-भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ । पछिल्लो एक हप्तादेखि पूवी तराई र पश्चिमी तराईका क्षेत्रमा शितलहर बढीरहेकाले त्यहाँको जनजिवन प्रभावित भएको छ ।चिकित्सकले चिसोबाट बच्नका लागि सबैलाई आग्रह समेत गरेका छन् ।




Comments are closed.