लेखनाथको विकासको लागि पहिलो संभावना त पर्यटन नै हो । यसका पछाडि केही कारण छन् । लेखनाथ सिंगो पोखराको एक भाग हो । विश्वकै पर्यटन गन्तव्यको रुपमा पोखरालाई हेरिँदै आएको छ । लेखनाथको प्राकृतिक सम्पदाको दृष्टिले हेर्दा बेगनास, रुपा लगाएतका धेरै ताल अवस्थित छन् । पर्यटकीय दृष्टिकोणले सुन्दर र मनोरम तालहरु स्वतः संसारका पर्यटकले मन पराउँछन्, तालको माध्यमबाट हामीले पयृटन विस्तार गर्न सक्छौं, यो लेखनाथको विकासको प्रमुख आधार हो ।
पर्यटनसँगै औद्यागिक विकास लेखनाथको अर्को संभावना हो । साविक लेखनाथमा पर्ने वडा नं ३२ मा औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गरिएको छ । यहाँ औद्यागिक क्षेत्र विस्तार गर्न सके अहिले उद्योग स्थापनाको लागि ठाउँको अभाव परिपूर्ति हुन्छ । अहिले पोखरामा ५ सय रोपनी क्षेत्रफलमा रहेको औद्योगिक क्षेत्रमा भरपर्नु पर्ने अवस्था छ । जहाँ ७०–७५ वटा उद्योग मात्र सञ्चालित छन् । नयाँ उद्योग स्थापना र भएकै उद्योगको बिस्तारको लागि ठाउँ नै छैन । त्यहाँ औद्योगिक क्षेत्र बने झण्डै चार सय उद्योग स्थापना गर्न सकिने देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योग स्थापना हुने संभावना रहन्छ ।
हामीले लेखनाथलाई कृषिको संभावनाको क्षेत्रको रुपमा पनि हेरिँदै आएको हो । तर अहिले ठूलो परिमाणमा कृषि उत्पादन गर्ने संभावना छैन, तर भएकै जमिनमा कृषि उत्पादन गरेर यसको बजारीकरण र कृषि पर्यटनलाई बिस्तार गर्न सकिने संभावना छ । यसरी पर्यटन, औद्यागिक क्षेत्र बिस्तार र कृषि पर्यटनलाई आधार बनाउन सकेको अवस्थामा लेखनाथको विकासमा सहयोग पुग्छ ।
पूर्वाधार निर्माणको क्षेत्रमा कुरा गर्दा यस क्षेत्रमा राष्ट्रियस्तरको बस टर्मिनल बनाउने कुरा भइरहेको छ । पृथ्वी राजमार्गबाट पोखरा प्रवेश गर्ने नाकामा प्रस्तावित बस टर्मिनलको प्रभावकारिता पनि महत्वपूर्ण रहन्छ । यहाँ बस टर्मिनल बनेको अवस्थामा पोखरामा ट्राफिक जामको समस्या पनि कम हुने देखिन्छ । पहिलेको लेखनाथ अहिले पोखरा महानगरपालिका गाभिएको छ । यसरी पनि समग्र पोखराको विकासका योजनाले लेखनाथलाई समेट्नुपर्छ । साविक लेखनाथ नगरपालिका पोखरा उपमहानगरपालिका गाभिएर पोखरा महानगरपालिका भएको हो । लेखनाथ नगरपालिका लेखनाथको विकासको लागि आफ्नै तरिकाले लयमा गएको अनुभवले पनि लेखनाथमा विकासको लागि छुट्टै बहस हुनु स्वाभाविक पनि हो । लेखनाथलाई छुट्टै रुपमा हेरिनुहुन्न भन्नेमा हामी छौं तर महानगरका योजना बनाउँदा सन्तुलित योजना बन्नुपर्छ भन्ने हाम्रो तर्क छ । पोखरा भनेको पोखराको कोर एरिया मात्रै होइन । पोखरा भनेको सिंगो पोखरा भ्याली हो र सबै वडाको विकास सन्तुलित रुपमा गरिनुपर्छ । यसो गर्दा लेखनाथको विकासको संभावना र आवश्यकतालाई स्वतः समेट्न सक्छ ।
महानगर भएपछि साविक लेखनाथ नगरपालिका क्षेत्रमा विकास निर्माणका योजना कम परेका हुन कि भन्ने आम नागरिकमा महसुस भएको जस्तो देखिन्छ । लेखनाथमा पूर्वाधारका हिसावले धेरै काम गर्न बाँकी छ, त्यसले पनि यो अनुमानमा बल पुर्याएको छ । पुरानो पोखरा पूर्वाधार, शहरीकरण, पर्यटनका हिसावले स्याचुरेसनमा गइसकेको छ । धेरै काम भइसकेका छन् । साविक लेखनाथ क्षेत्रमा बाटो व्यवस्थित गर्नुपर्ने छ, व्यवस्थित शहरीकरण गर्नुपर्नेछ । भौतिक पूर्वाधारको काम गर्न पर्याप्त ठाउँ पनि छ । त्यस्तै साविक लेखनाथ क्षेत्रमा विकासको पूर्वाधारका धेरै काम गर्नुपर्ने भएकाले महानगरको योजनामा प्राथमिकता दिनुपर्छ ।
यसको अर्थ लेखनाथको विकास छुट्टै मोडलमा गरौं भन्न खोजिएको होइन । जुन क्षेत्रमा जुन कुराको आवश्यकता छ, त्यो क्षेत्रमा त्यो काम गर्नको लागि योजना बनाइनुपर्छ । यसले लेखनाथको विकासमा सहयोग त पुग्छ नै समग्र पोखराको विकास र पोखरालाई थप व्यवस्थित बनाउन लेखनाथको विकासले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
Comments are closed.