‘अवलोकनकर्तालाई नविनतम प्रविधिबारे अपडेट गराउँछौं’

विकास भुर्तेल
सचिव
क्यान महासंघ, कास्की
तथा प्रदेश नं. ४ सदस्य

क्यान महासंघ कास्कीको आयोजनामा नवौं संस्करणको इन्फोटेक हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन ४ देखि ८ गतेसम्म सञ्चालन हुने इन्फोटेकसँग केन्द्रित रहेर क्यान महासंघ कास्कीका सचिव विकास भुर्तेलसँग आर्थिक आवाजले गरेको कुराकानी  :

क्यान कास्कीले आयोजना गरेको इन्फोटेकका आकर्षणहरु के–के छन् ?
इन्फोटेकलाई समयानुकुल बनाउने प्रयास गरेका छौं । हिजो र आजको प्रविधि फरक छ । हामीले इन्फोटेकलाई जतिसक्दो प्रविधिमैत्री बनाउँदै छौं । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिको प्रदर्शनी नै इन्फोटेकको मुख्य आकर्षण हो । बिक्रीलाई भन्दा पनि प्रविधिबारेमा आम मानिसमा चासो जगाउन हामी सफल हुनेछौं । सूचना तथा प्रविधिको बृहद प्रदर्शनी, विभिन्न आइटी कलेजबाट उत्पादित वैज्ञानिक उपकरणहरुको प्रदर्शनी, शैक्षिक परामर्शदातृ संस्थाहरुको उपस्थिति पनि इन्फोटेकको आकर्षण बन्नेछ ।

इन्फोटेकको तयारी कस्तो छ ?
फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक हुँदैछ । इन्फोटेकको मिति नजिकिएको छ । हामी लगभग बाहिरी सबै तयारी सकिसकेका छौं । अब हाम्रो चासो उद्घाटनलाई भव्य बनाउँदै इन्फोटक सफल बनाउनेतर्फ छ । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठित विभिन्न २७ वटा उपसमितिले आआफ्नो जिम्मेवारी अनुसारको काम गरिसकेको सचिवालयमा जानकारी प्राप्त भएको छ ।

प्रचार प्रसारलाई कसरी व्यवस्थित बनाउनुभएको छ ?
पोखराका स्थानीय अनलाइन, पत्रपत्रिका, एफएम, टेलिभिजन लगायतका सञ्चार माध्यमले हामीलाई भरपुर साथ दिनुभएको छ । म पोखराका सम्पूर्ण सञ्चारकर्मी तथा पत्रकार साथीहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ पाउनेमा विश्वस्त छु । प्रचार–प्रसारलाई हामीले केही प्रविधिमैत्री पनि बनाएका छौं । विभिन्न सञ्चार माध्यमका साथै फेसबुक तथा अनलाइनलाई पनि प्राथमिकतामा राखेर प्रचार–प्रसार गरिरहेका छौं ।

नवौं संस्करणको इन्फोटेक हुँदैछ । बिगतको अनुभव अनुसार इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण कस्तो छ ?
मोफसलमा रहेर पनि हामीले वर्षेनी निरन्तर इन्फोटेक आयोजना गर्न सफल छौं । पोखरा अब मोफसल भन्दा पनि प्रदेश नं. ४ को केन्द्र बनिसकेको छ । आगामी वर्षमा इन्फोटेकको महत्व अझै बढ्नेमा हामी ढुक्क छौं । बिगतका वर्षहरुमा आयोजना भएका इन्फोटेकको सफलताले नै हामीलाई अगाडि बढ्न प्रोत्साहन गरेको हो । हाम्रा अग्रजहरुले सुरु गरेको यो इन्फोटेक सूचना तथा प्रविधिका क्षेत्रमा ब्राण्ड बनिसकेको छ । हाम्रो लक्षित समूहको उपस्थिति इन्फोटेकमा वर्षेनी बढिरहेको पाएका छौं । बिगतका वर्षहरुमा भन्दा यसपटक अझ बढी उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं । बिगतमा ४ दिनसम्म चल्ने इन्फोटेक यस वर्ष ५ दिनसम्म गर्दैछौं ।

खर्चलाई कसरी व्यवस्थित गर्नुभएको छ ?
यो इन्फोटेक सानो प्रयासले सफल भएको होइन । यसमा धेरैको योगदान छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि हामीलाई प्रायोजन गर्ने कम्पनी तथा ब्राण्डहरुको आकर्षण बढिरहेको छ । हामीले इन्फोटेकबाट प्राप्त गरेको सफलता र विश्वासले गर्दा नै हामीलाई प्रायोजकहरुको महत्वपूर्ण साथ छ । प्रायोजक, स्टल बिक्री, ब्यानर प्रायोजन लगायतका स्रोतबाट इन्फोटेक सफल पार्दै आइरहेका छौं । इन्फोटेकबाट बचत रकमलाई क्यान कास्कीको प्रशासनिक र अन्य सामाजिक काममा खर्च गर्दै आइरहेका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेला प्रविधिमैत्री छ । प्रविधिसँग अपडेट हुन मेलामा आउनुहुन सबैमा म आह्वान गर्दछु । मेला सफल पार्न आआफ्नो तर्फबाट योगदान पु¥याउने सबै प्रति आभार व्यक्त गर्दछु ।

You might also like

Comments are closed.