हेमजा, १७ चैत
यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ । हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आइतवार हेमजामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन आयोजकले सम्पूर्ण सरोकारवालासँग आग्रह पनि गरिएको छ । त्यस्तै प्रतिकिलो ३२ रुपैयाँमा आलुको बिक्री गरिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा आयोजक क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।
सो अवसरमा कृषि विकास निर्देशानलय गण्डकी प्रदेशका वरिष्ठ कृषि अधिकृत श्यामप्रसाद रिजाल, महोत्सवका सल्लाहकार धर्मराज बास्तोला, मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिम्सिना, अर्थ संकलन उपसमितिका संयोजक मदन थापा लगायतले बोलेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्य तय गरिएको छ ।
महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा तिन सयमा महोत्सव अवधिभर स्थानिय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० देखि १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । महोत्सवका संयोजक कृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।




Comments are closed.