पोखरा, ३ बैशाख
पर्साका हावाहुरी प्रभावित वालवालिकाहरुलाई लत्ता कपडाको साथमा शैक्षिक सामग्री वितरण गरिएको छ । पोखरामा रहेकोे सामाजिक जागरणको लागि नारी अभियानको आयोजनामा सामाजिक अभियन्ता शुष्मा पौडेलको संयोजनमा पर्साको जगरनाथ पुरमा रहेका एक सय भन्दा बढी प्रभावित वालवालिकाहरुलाइ लत्ता कपडा सहित शैक्षिक सामाग्रि सोमबार वितरण गरिएको हो ।
हावाहुरीबाट प्रभावित वालवालिकाहरुलाई टिसर्ट, पाइन्ट, चप्पलको साथमा शैक्षिक सामग्री वितरण गरिएको अभियन्ता पौडेलले बताइन् । उनका अनुसार पर्सामा जगरनाथमा अतिनै प्रभावित ५६ घर परिवार सहितका एक सय जना वालवालिकाहरुलाई लत्ता कपडा वितरण गरिएको हो । साथमा केही महिलाहरुलाई साडी समेत वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा सामाजिक अभियान्ता शुष्मा पौडेल सहित महिला अधिकारकर्मी सावित्री कुमारी भण्डारी, वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष महम्मद मिया सुदिन मिया, शान्ति आचार्य, शुस्मिता सुवेदी, शुक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।सामाजिक अभियान्ता पौडेलको नेतृत्व केहि साता अघि एक टोलीले हावाहुरीबाट प्रभावित बाराका महिला सहित ज्येष्ठ नागरिकलाई खाद्य सामग्रीको साथमा लत्ता कपडा सहयोग गरेको थियो ।
अतिनै प्रभावित ५६ घर परिवारका वालावालिकाहरु भए पनि उक्त राहत सामग्री पाउने आशामा करिब ३ सय भन्दा बढी सहभागि भएका थिए । सुरक्षाकर्मी, वडा अध्यक्ष सहित स्थानियसंग समन्वय गरी करिब ३ घण्टा पछि मात्र उक्त राहत सामाग्रि वितरण गरिएको टोलीमा सहभागि पत्रकार दिननाथ बरालले बताए । प्रभावित भन्दा अन्य व्यक्तिहरु राहत पाउने ठाउँमा बढी सहभागि हुने हुदा तराई क्षेत्रमा राहत वितरण गर्न समस्या हुने गरेको उनले जनाए । वैशाख एक गते आइतबार वीरगन्जमा रहेको नारायणी अस्पतालमा रहेका १० जना बिरामीलाई फलफुलको साथमा लत्ता कपडा समेत वितरण गरिएको थियो ।
अस्पतालमा व्यबस्थापन कमजोरी भएको बिषयमा बिरामीका आफन्तहरुले गुनासो गरे पछि अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा.अनमुल हकले अस्पतालमा भएको कमी कमजोरीलाई तत्काल सुधार गर्ने बताए । क्यानडीयन नागरिक मिचायल हानले पर्साका प्रभावित वालवालिकाहरुको लागि शैक्षिक सामाग्रि(कपि, पेन्सिल, कटर, ईलेजर) साथमा खेल सामग्री (फुटवल, वल, रिङ) सहित नारायणी अस्पतालमा रहेका बिरामीहरुलाई समेत फलफुल सहयोग गरेकी हुन्। पोखरामा एक महिना देखि इन्टर्नशिप गर्न आएकी क्यानडीयन नागरिक हानले अघिल्लो साता बाराको हर्दियामा पुगेर दलित समुदायका ५० घर परिवारलाई खाद्य सामग्रीको साथमा लत्ता कपडा र भाडाकुडाँ सहयोग गरेकी थिइन् । हानले आफ्ना क्यानेडीयन साथी भाइसंग र आफ्नी आमा छुलिङ जंगसंगको सहयोगमा सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै पोखरा लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा उक्त सहयोग गरेकी हुन् । यसैबिच, बारा र पर्साका हावाहुरी प्रभावितालाई अब तत्काल आवासको आवश्यकता भएको प्रभावितहरुको जोडदार माग रहेको छ । पोखरा सहित देशका विभिन्न भागबाट हावाहुरी प्रभावित क्षेत्रमा सहयोग वितरण भईरहेको छ ।
Comments are closed.