गलकोट (बागलुङ) । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ ।
मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार ५३५ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद रु १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट रु ५४ हजार नौ सय, बोकाबाट रु एक लाख ३० हजार ६ सय, कुखुराबाट रु सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा रु तीन लाख १४ हजार चार सय, विवाहबाट रु १० हजार पाँच सय आर्थिक सहयोग रु तीन लाख ४२ हजार ४८५, परेवा बिक्रीबाट रु ६ लाख ५५ हजार २५०, व्रतबन्ध रु नौ सय, पण्डितबाट रु १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै फागुनमा रु २७ लाख ३६ हजार ८९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार ६४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब रु तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा रु ६७ हजार खर्च भएको छ ।
साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा रु २१ लाख ६ हजार, पोशाक तथा छपाइमा रु २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा रु तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दशैँ मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको छ । रासस
Comments are closed.