पोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् ।
महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ । संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
महोत्सव प्रचारप्रशारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्व अध्यक्ष एवं सल्लाहकारहरुले महोत्सवको अनुगमन गर्ने छन् । बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको थियो ।
उक्त खुसियाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनाहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए । नेपली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ बर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्धेश्य सहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुनेछ ।
ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । अम्मट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुनेछन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइनेछ । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।
Comments are closed.