नेप्से परिसूचक ८ दशमलव ९० अङ्कले बढ्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो आइतबार ४ दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन ८ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव ४२ प्रतिशतले बढेर २ हजार ८२ दशमलव ०९ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ बराबरको कारोबार भएको छ ।

बैङ्किङ समूह ० दशमलव ०२, होटल तथा पर्यटन ० दशमलव ९३, जीवन बीमा ० दशमलव २४, म्युचुअल फन्ड ३ दशमलव ७४, व्यापार समूह २ दशमलव ०३ र अन्य समूह ० दशमलव ०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । आज विकास बैङ्क समूह ० दशमलव ३६, वित्त १ दशमलव २१, जलविद्युत् २, लगानी ० दशमलव १५, लघुवित्त ० दशमलव ६२ र निर्जीवन बीमा समूह १ दशमलव २८ प्रतिशतले बढेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड ८ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ४१ करोड ८७ लाख ६३ हजार २०६ बराबरको ६ लाख २७ हजार ६७६ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.