जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ ।
विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्र वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।
सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताए । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उनले बताएका छन् ।
धनुषा जिल्लामा ४२८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यस पटक ४४ सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा (कोवा) समेत खाने गरिएको उनले बताए ।
धनुषामा प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उतरीक्षेत्र ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साह बताउँछन् ।
बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसायतर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् । अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्रीवितरण गरी अत्यधिक मुनाफा गरिरहेका छन् ।
धनुषाका गाउँगाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरुको गुनासो छ । कटहरको व्यावसायिक रुपमा बिक्रीवितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । रासस
Comments are closed.