११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् ।

११२ आँै अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका हुन् ।

नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुबै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

सामाजिक सुरक्षा लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन पनि आग्रह गरेका छन् । भारतसंग १० हजार मेगावाट बिद्युत खरिद सम्झौता भएको र बंगलादेशसंग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न अनुरोध गरे ।

यसैगरी भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पुर्वाधार विस्तारको सम्भावना रहेको पनि बताए ।

सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालको लाभका क्षेत्र रहेको उनले बताए । लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागिलाई जानकारी गराए ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (आइओइ) का उच्च पदस्थ अधिकारीसंग पनि भेटवार्ता गरेका छन् ।

 

 

You might also like

Comments are closed.