पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार

काठमाडौं । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रु ५ अर्ब ८९ करोड नाघेको थियो । नेप्से परिसूचक आज ९ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो ।

नेप्से परिसूचक आज ० दशमलव ४३ प्रतिशतले घटेर २१ सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४ सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक समूह १ दशमलव ३ र वित्त समूह २ दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान १ दशमलव तीन प्रतिशतले घटेका छन् ।

त्यस्तै, बैंकिङ ० दशमलव ४३, होटल तथा पर्यटन ० दशमलव १५, जलविद्युत् ० दशमलव १५, जलविद्युत् ० दशमलव ५९ र लगानी ० दशमलव ६४ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको उपसूचक ० दशमलव ५१, लघुवित्तको ० दशमलव ३८, म्युचुअल फण्डको ० दशमलव ११, निर्जीवन बीमाको ० दशमलव ८२ र अन्य समूहको उपसूचक ० दशमलव ८१ प्रतिशतले घटेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार ३९४ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.