देउखुरी (दाङ) । दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६७० किलो, मालागेडी एक लाख ३९ हजार ६२० किलो, रिठा ८३ हजार ८७० किलो, तेजपात ४३ हजार ४५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३७० किलो उत्पादन भएको छ ।
वन डिभिजन कार्यालयका अनुसार चुत्रो ९४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४६० किलो उत्पादन भएको छ । उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित भएको थियो ।
यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ । उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७४२ किलो काठ बेचिएकोे थियो । टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्वर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ । रासस
Comments are closed.