नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।

आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर २ हजार ५३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह १ दशमलव १६ र होटल तथा पर्यटन समूह ० दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ३ दशमलव ०९ प्रतिशतले घटेको छ ।

बैंकिङ १ दशमलव २१, विकास बैंक ० दशमलव ५६, जलविद्युत् १ दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा ० दशमलव ३१, उत्पादन तथा प्रशोधन १ दशमलव २४ र लघुवित्त १ दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड ० दशमलव ७६, निर्जीवन बीमा ० दशमलव १४ र अन्य समूह १ दशमलव ९० प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेड र एसियन हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाईड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ७९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३६ करोड ७ लाख ४६ हजार ४५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १३ लाख ७६ हजार ७९४ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.