दूध बिक्रीबाट मासिक रु एक लाख भन्दा बढी आम्दानी

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ निवासी रवि घर्ती व्यावसायिक पशुपालनमा लागेको ३ वर्ष भयो । रोजगारीका लागि बाहिर जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर ३ वर्षअघि व्यावसायिक कृषिमा लाग्नुभएका घर्तीले साथीसँग मिलेर संयुक्त रूपमा भैँसी, बङ्गुरपालन, हाँसपालनसँगै तरकारी खेती गर्दै आएका छन् ।

घोराही उपमहानगरपालिका–७, घुस्रामा ५ बिघा जग्गा किनेर व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताउँछन् । मेहनत गर्न सके आफ्नै ठाउँमा पशुपालनबाट राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्षसमेत रहेका घर्ती भन्छन्, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपथ्र्यो । व्यावसायिक रूपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा भैँसीपालन गरेर राम्रै आम्दानी भइरहेको बताउँछन् ।

उनका अनुसार फार्ममा साना ठुला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भैँसीमध्ये ४ वटा भैँसीले दुध दिने र त्यसैबाट महिनामा १ लाख रुपियाँभन्दा बढी कमाइ गर्दै आएको घर्तीले बताए ।

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उनी भन्छन्, “उत्पादन गरेको दूध बिव्रmीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५–५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उनले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताए । बजारको मागसँगै प्रशस्त मात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउँछन् । उनका अनुसार दूध ७० रुपियाँ लिटर बिक्री हुने गर्दछ ।

दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन् । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा छन् । दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भने, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ ।”

You might also like

Comments are closed.