नेप्से ३२ अंकले बढ्दा १४ अर्बको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३२ अंकले बढेर २ हजार ५६८.११ विन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ ।

बढेको बजारमा बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेका छन् । यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता, मितेरी विकास बैंकका लगानीकर्ताको सेयर मूल्यमा ७.५६ प्रतिशतले गिरावट आएको छ । मान्डु हाइड्रोपावर ४.६८ प्रतिशतले घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये ४ वटाको सूचकमा गिरावट आएको छ भने बाँकी ९ वटाको सूचकमा वृद्धि भएको छ ।

लघुवित्त उपसमूह सबैभन्दा धेरै ६.८३ प्रतिशतले बढ्दा निर्जीवन उपसमूह करिब ३ प्रतिशत तथा बैंक र वित्त उपसमूह १ प्रतिशतभन्दा धेरैले बढेका छन् । विकास बैंक, जलविद्युत्, लगानी र अन्य उपसमूहको सूचक १ प्रतिशतभन्दा कमले गिरावट भएका छन् ।

You might also like

Comments are closed.