वीरगञ्ज (पर्सा) । पर्सामा विगत ३ वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो ३ वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ ।
गत आर्थिक वर्षमा ८९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि आव २०७९/८० मा भने यहाँ १ हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८/७९ मा भने १ हजार ४८८ वटा उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए ।
“गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगी वा व्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,” उनले भने, “समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।”
आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या १९२ वटाले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ छुट्टाछुटै १७९ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, निर्माणतर्फ १०१ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्फ ८०, सेवातर्फ ३५८ वटा नयाँ उद्योग थपिएका छन् ।
गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने रु १ अर्ब ५ करोड ९८ लाख ७ हजार ४५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले ३ हजार ४५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ ।
कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने ५११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती थपिएका हुन् । रासस






Comments are closed.