वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा ४ प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको २ लाख ९० हजार २८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको २ लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार २३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट रु १७ अर्ब ३१ करोडको ५ लाख ९७ हजार १४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु १८ अर्ब २१ करोडको १७३ हजार ४८४ केल आयात भएको छ ।

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल ४ प्रतिशत र पेट्रोलको आयात २ प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव २०७९/८० मा रु १ खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ केल डिजल र रु ३८ अर्ब २४ करोडको ३ लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा रु १ खर्ब ९ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० केल डिजल र रु ३९ अर्ब २ करोडको ३ लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ । रासस

You might also like

Comments are closed.

Secret Link