वीरगञ्जको सहरी विकास मोडेललाई उजागर गर्न अनुरोध

काठमाडौं । नेपाल—भारत उद्योग वाणिज्य संघका वीरगञ्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीको नेतृत्वमा नयाँदिल्ली पुगेको च्याप्टरको प्रतिनिधीमण्डलले भारतको नीति आयोगका निर्देशक युगल किशोर जोशीसंसंग भेटघाट गरेको छ । हालै भारतको नयाँदिल्लीमा आयोजना भएको ३ दिने बिमस्टेक बिजिनेस सम्मेलन २०२४ मा सहभागी हुने सिलसिलमा भेट भएको हो ।

भेटघाटमा वीरगञ्ज च्याप्टरका अध्यक्ष चौधरीको प्रतिनिधीमण्डल र जोशी बीच छलफल हुंँदा वातावरण संरक्षण, प्रभावकारी जल व्यवस्थापन र दिगोपनाका लागि नीति आयोगलाई नेपाल सरकार, उद्योग र नागरिक समाजसँग आफ्ना उत्कृष्ट अभ्यासका अनुभवहरू साटासाट गर्न अनुरोध गरिएको छ । नेपालको औद्योगिक शहर वीरगञ्जको सहरी विकास (हरित अभियान र सरसफाइ व्यवस्थापनसहित) मोडेललाई थप उजागर गर्न अनुरोध गरिएको छ ।

पीएचडीसीसीआई भारत–नेपाल केन्द्र र नेपाल—भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरले आयोजना गर्ने सम्मेलनमा भारत सरकारको नीति आयोग र नेपाल सरकारको योजना आयोगका वरिष्ठ सरकारी अधिकारीको सहभागिता रहने गरी अगाडी वढ्ने विषयमा छलफल भएको छ । भारतको नीति आयोग अर्थात राष्ट्रिय भारत रुपान्तरण प्रतिष्ठान भारत सरकारको नीतिगत थिंक ट्यांक हो, जुन राज्य सरकारको आर्थिक नीति निर्माण प्रक्रियामा सहभागीतामार्फत सहकारी संघीयतालाई प्रवद्र्धन गर्न स्थापना गरिएको हो । यो १ जनवरी २०१५ मा योजना आयोगको बदलामा स्थापना गरिएको थियो ।

नीति आयोगका कार्यमा नीति निर्माण अन्तर्गत दीर्घकालीन रणनीतिक र प्रोग्रामेटिक ढाँचा विकास गर्ने, अन्तर—मन्त्रालय समन्वय र अनुगमनलाई सहज बनाउने र नीतिको कार्यान्वयनको अनुगमन गर्ने, अनुसन्धान र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने, आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक हितमा नीतिको वकालत गर्ने, राज्य सरकारलाई नीति निर्माण र कार्यान्वयनका लागि अनमोदन गर्ने, विशेषज्ञता र ज्ञानको केन्द्रको रूपमा कार्य गर्ने, प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरू प्रदान गर्ने काम यस आयोगले गरिरहेको छ । यो आयोग भारतका प्रधानमन्त्रीको अध्यक्षतामा छ ।

यसमा उपाध्यक्ष, पूर्णकालिक सदस्यहरू, अंशकालिक सदस्यहरू, पदेन सदस्यहरू (केन्द्रीय मन्त्रीहरू), र प्रमुख कार्यकारी अधिकृत समावेश छन् । छलफलमा पि.एच.डी च्याम्वर अफ कमर्शमा भारत—नेपाल केन्दका संयोजक अतुल ठाकुर र नेपाल भारत उद्योग वाणिज्य संघका वीरगञ्ज च्याप्टरका विभिन्न समितिका संयोजकहरु चन्दन सिंह, सुमित केयाल तथा दिपेश अग्रवालको सहभागीता थियो ।

You might also like

Comments are closed.

Secret Link