पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

रामपुर (पाल्पा) । पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक ८, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म ४ वटा छन् । गतवर्ष ४३ महिला र ६० पुरुष गरी १०३ जना उद्यमी थपिएका छन् । १८० महिला र २२७ पुरुष गरी ४०७ जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

एक वर्षमा कार्यालयमा दर्ता भएका उद्योगमा रु २१ करोड ९८ लाख बराबरको पुँजी लगानी र सो उद्योगबाट रु १५ लाख ६४ हजार ५ सय बराबरको कुल राजश्व प्राप्त भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार गत आवमा ४८३ उद्योगको नविकरण, १७७ उद्योगको लगत कट्टा, ८९ उद्योग पुँजी वृद्धि, ३३ उद्योगले प्रतिलिपि लिएको, ३ वटा उद्देश्य थप तथा परिवर्तन, ९ वटा नामसारी तथा ठाउँसारी गरिएको छ ।

कार्यालय स्थापनादेखि हालसम्म जिल्लामा ३ हजार ८१७ उद्योग दर्ता भएका थिए । जसमध्ये उत्पादनमूलक ६०५, कृषि तथा पशुपालनसम्बन्धी १३ सय ६८, पर्यटनसम्बन्धी १ हजार ३३ छन् । सोही आवमा वाणिज्य फार्म ९१ वटा दर्ता भएका छन् । जसमध्ये किराना र खाद्यान्नसम्बन्धी २७, हार्डवयर ८, फेन्सी तथा कपडा १४, कस्मेटिक तथा जुत्ता १०, मदिरा तथा सुर्तिजन्य ४, भाँडाकुँडा तथा एलपि ग्याँससम्बन्धी २, कृषिसम्बन्धी २, सुनचाँदी ४, फर्निचर र फर्निसिङ्ग २, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ६ र अन्य १२ रहेका छन् । दर्ता भएका यी वाणिज्य फार्ममा रु १८ करोड १२ लाख बराबरको कुल पुँजी लगानी रहेको छ भने रु २१ लाख ३६ हजार ७ सय कुल राजश्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षमा ६८९ वटा वाणिज्य फार्म नविकरण, १८६ लगतकट्टा, १५० पुँजी वृद्धि, ५१ वटा प्रतिलिपि, उद्देश्य थप र परिवर्तन २६, नामसारी र ठाउँसारी १० वटा रहेका छन् । गत आर्थिक वर्ष सम्ममा दर्ता भइ सञ्चालनमा रहेका फार्मको सङ्ख्या ४ हजार ३३३ रहेका छन् । उद्योगतर्फ ३ हजार ८१७ गरी कुल ८ हजार १५० फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९/८० मा १४३ उद्योग खारेज भएका थिए । उद्योगतर्फ १४३ र वाणिज्यतर्फ १९४ फर्म खारेज भएका हुन् । आव २०७८/०७९ मा १८८ उद्योग र २३९ फार्म खारेजी भएका थिए ।

जिल्लामा उद्योग व्यवसायदर्ता गर्ने भन्दा खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ । रु ५ लाखसम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्ने गरेका छन् । कृषि तथा पशुपालनमूलक, पर्यटन उद्योग बढी मात्रामा खारेजी भएका छन् । आर्थिक मन्दीलगायत कारणले उद्योग व्यवसाय खारेजी भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध छ । प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम रु ५ लाख भन्दा कम पुँजीलगानी भएका उद्योग तथा वाणिज्य फार्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगत कट्टा गरिन थालिएको हो । कार्यालयले सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ ।

घरेलु कार्यालयसँग लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार छ । रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । १० करोड माथिका पुँजी भएमा उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । रासस

You might also like

Comments are closed.

Secret Link