टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट

काठमाडौं । पछिल्लो २ कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् ३ दशमलव २० प्रतिशतले घटेर २ हजार ७३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर १ लाख ३७ हजार १६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह ५ दशमलव १५ र होटल तथा पर्यटन समूह ४ दशमलव ७४ प्रतिशतले घटेको छ ।

बैंकिङ ३ दशमलव १७, विकास बैंक २ दशमलव २९, जलविद्युत् ३ दशमलव ५९, लगानी ३ दशमलव ५६, जीवन बीमा ३ दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त १ दशमलव ३८, म्युचुअल फन्ड १ दशमलव ३७, निर्जीवन बीमा २ दशमलव ७३, व्यापार २ दशमलव ६८ र अन्य समूह ३ दशमलव ३८ प्रतिशतले घटेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार ३११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख १९ हजार ३३९ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.