वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको २ महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु २ करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा रु १ अर्ब ३१ करोड २९ लाख १० हजारको रु ३ करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।
चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार ९ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड ५ लाख २७ हजारको २२ लाख ३ हजार ९ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।
चालु आवमा २ महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको १ करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको १ करोड ८६ लाख ९१ हजार ७१४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।
Comments are closed.