काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा गरिमा रोड रेस प्रतियोगिता–२०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ शनिबार प्रतियोगिता आयोजना गरेको हो ।
प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले कार्यक्रम उद्घाटन गरेका हुन् । खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता सहभागीता थियो । खुल्लातर्फको १० कि.मी. दुरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट पुगेर समापन हुने गरी रुट तय गरिएको थियो ।
कर्पोरेटतर्फको ५ कि.मी. दुरीको प्रतियोगिता केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक हुँदै पूनः लाजिम्पाटमा पुगेर समापन हुने गरी रुट तय गरिएको थियो । कुल ६५० जना भन्दा बढी धावकको सहभागिता रहेको प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः रु.७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
विकास बैंकका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्दप्रसाद श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पारेका हुन् । विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए । एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंकले आयोजना गरेको यस प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको बताए ।
विकास बैंकले गत कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएको थियो । नेपाली टिमले यस खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु. १ लाख नगद पुरस्कार अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ ।
Comments are closed.