म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।

बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु १ करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु १ करोड ६७ लाख २८ हजार १२६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी बताउँछन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको ६ कोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा रु २ करोड ६४ लाख १४ हजार २६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु १ करोड ५९ लाख ८३ हजार ७७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा रु १ करोड ३० लाख र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । ६ वटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा ५ र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको ५ शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । रासस

You might also like

Comments are closed.