काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशसंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।
सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् । नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन् ।
खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।
हाल बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरबाट सेवा दिइरहेको छ ।
क्युआर कोड, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
Comments are closed.