सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामपुर नगरपालिका भित्रका खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ । नगरपालिकाले माटोमा अम्लीयपनको मात्रा बढ्न थालेपछि किसानलाई कृषि चुन उपलब्ध गराएको छ । खेतबारीका माटो जाँच गर्ने क्रममा अम्लीयपन देखिएपछि किसानलाई निशुल्क कृषि चुन वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । नगरपालिका भित्रका एक सय जना किसानलाई कृषि चुन उपलब्ध गराइएको छ ।
किसानलाई वितरणका लागि शाखाले दश टन कृषि चुन खरिद गरेर ल्याएको प्रमुख गैरे बताउँछन् । नगरपालिकाले कृषि ज्ञान केन्द्र पाल्पाको समन्वयमा बेला–बेलामा माटो परीक्षण शिविर आयोजना गर्दै आइरहेको छ । माटोमा अम्लीयपन देखिएका खेतीयोग्य जमिनमा परीक्षणको आधारमा कृषि चुन उपलब्ध गराउने कार्य भइरहेको छ । माटोमा अम्लीयपन बढ्दा उर्वरा शक्तिमा ह«ास आएको पाइएको छ ।
किसानले धेरै मात्रामा उत्पादन बढाउन खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग धेरै गरेकाले माटोको उर्वराशक्ति नै घट्न थालेको कृषि प्राविधिक बताउँछन् । खेतबारीमा चाहिने भन्दा बढी उत्पादन बृद्धि गर्ने निहुँमा किसानले रासायनिक मलको प्रयोग धेरै गरेको पाइन्छ । यसको असरबारे खासै ध्यान दिइएको पाइदैन ।
“मात्रा मिलाएर रासायनिक मल प्रयोग गर्ने, कृषि चुनको प्रयोग बढाउने, विषादीको प्रयोग कम गर्ने हो भने माटोको उर्वराशक्ति ह«ास भएर जाने थिएन, अन्धधुन्धा तरिकाले उत्पादन धेरै गराउन रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उत्पादन शक्ति नै घट्दै गएको छ, यसबारेमा किसानलाई सचेत गराइएको छ तर किसानले पूर्ण रुपमा पालना गरेको पाइदैन” शाखा प्रमुख गैरेले भने ।
माटोमा अम्लीयपन बढ्दै जानु र बालीलाई नभई नहुने नाइट्रोजन, फस्फोरस जस्ता तत्वको मात्रा घट्दै गएकाले उर्वरा शक्तिमा क्रमशः कमी आइरहेको छ । उत्पादन बढाउन, माटोको अम्लीयपन घटाउनका लागी घरेलु प्रविधिबाट प्राङ्गारिक मल तयार पारेर खेतबारीमा प्रयोग गर्नुपर्छ । यसले माटोको उत्पादन शक्ति ह«ासमा कमी ल्याउँदछ । यहाँका खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी देखिएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने कृषि प्राबिधिक बताउँछन् ।
Comments are closed.