भोजपुर । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् ।
आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ । मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताए ।
विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले जानकारी दिए । दुई चरणको तालिममा सहभागी भएसँगै आफँैले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उनको भनाइ छ । “मैले व्यावसायिक रूपमा मौरीपालन गरिरहेको छु”, उनले भने,“विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिएँ । २१ दिने मौरीपालनसम्बन्धी तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु ।”
मौरीपालनसम्बन्धी तालिम पाएपछि व्यावसायिक रूपमा लाग्न टेवा पुगेको स्थानीयवासी अमृत राईले बताए । आधुनिक रूपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ । तालिमका क्रममा मौरीपालनसम्बन्धी आवश्यक ज्ञान पाएको उनी बताउँछन् । आफूसँगै अहिले १५ घार मौरी रहेको उनले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो ।
यहाँका अधिकांश किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेकाले उनीहरूलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नमा स्थानीयले ध्यान दिनुपर्ने उनको भनाइ छ । वडाले क्रमशः रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नमा भूमिका खेलिरहेको उनले जानकारी दिए ।
पराम्परागत रूपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उनको भनाइ छ । “लेखर्क मौरीपालनका लागि निकै राम्रो क्षेत्र हो”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेका छन् । पराम्परागत रूपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट स्थानीयवासीको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य छ । हामी मौरीपालनको स्रोत केन्द्रका रूपमा विकास गर्न लागिपरेका छौँ ।”
मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो । वडाका चार सय ६९ घरपरिवारमध्ये २५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । “वडामा आर्थिक विकासको सम्भावना खोजिरहेका छौँ, किसानलाई कसरी आयआर्जनमा जोड्न सकिन्छ भनेर वडाले आवश्यक काम गरिहेको छ । धेरै किसानको रोजाइमा रहेको मौरीपालनलाई व्यावसायिकता दिन हामीले जोड दिएका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने ।
मौरीपालन किसानलाई लक्षित गरेर २१ दिनसम्म सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृत्रिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानन्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउनेलगायत प्राविधिक ज्ञान प्रदान गरिएको प्रशिक्षक जीवनाथ बरालले जानकारी दिए । सहभागी २० अगुवा किसानलाई अभ्यास गराएर सीप प्रदान गरिएको उनको भनाइ छ । रासस
Comments are closed.