लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर २ हजार ८२१ दशमलव १३ को विन्दुमा कायम भएको हो ।

३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर १ लाख १ हजार ६०३ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह ० दशमलव ४३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ १ दशमलव ०४, विकास बैंक १ दशमलव ३१, वित्त १ दशमलव ५५, होटल तथा पर्यटन १ दशमलव ०५, जलविद्युत् ० दशमलव ३७ र लगानी समूह १ दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा १ दशमलव ४५, उत्पादन तथा प्रशोधन ० दशमलव ९४, लघुवित्त ० दशमलव ५०, म्युचुअल फण्ड ० दशमलव १५, निर्जीवन बिमा १ दशमलव ५१ र अन्य समूह ० दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ९६ करोड ७० लाख ९५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११ लाख १३ हजार ३३५ कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.