चिया अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे (इलाम) । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे ।

नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उनले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको स्मरण गरेका छन् । उनी भन्छन्, “चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको छ ।”

नगरप्रमुख थापाले १५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएकोे उल्लेख गर्दै हाल यहाँको चियाले नेपालको अन्तरराष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योग विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले विशेषगरी इलाम तथा कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवद्र्धनमा चीनले चासो राखेको बताएका छन् । सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीका लागि आयोजित तालिमको महत्वलाई पनि भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेको भनाइ छ । रासस

You might also like

Comments are closed.