तुलसीपुर (दाङ) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि ३८ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार ८९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार ४५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।
सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा ३७ सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा ३८ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनी बताउँछन् । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ ।
यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ । मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् ।
विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताए । दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ । विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो ।
सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ । “यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो”, सूचना अधिकारी कँडेलले भने, “सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।”
अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् । रासस
Comments are closed.