काठमाडौ) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ६४ हजार ३६० पटक खरिदबिक्री हुँदा रू ७ अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य ६ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ५९ करोड ४१ लाख ५३ हजार ९६० बराबरको १९ लाख ५० हजार ८०६ कित्ता सेयर किनबेच भएको छ ।
Comments are closed.