काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् ।
बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न उनीहरुको जोड छ । पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्ने बताएका छन् । यस्तै, स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि उनीहरुको सुझाव छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताए ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजनाहरू ल्याउन आग्रह गरे । अर्का पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरुरी रहेको भन्दै बनेका पूर्वाधारहरूलाई सदुपयोग गर्नुपर्ने बताए । त्यसैगरी, पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयतमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए ।
अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको भन्दै सरकार यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको जानकारी दिएका छन् ।
Comments are closed.