पाल्पा । पाल्पास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१ /८२ को ९ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो ।
चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख घिमिरेले भने, “चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।”
कार्यालयले गत आवको सोही अवधिमा रु १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो । उसले गत आव २०८०/८१ को असार मसान्तसम्म रु १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व सङ्कलन गर्यो । जुन अहिले ९ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ ३ महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु २ करोड ४५ लाख २८ हजारमात्र सङ्कलन भएको थियो ।
त्यसैगरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व सङ्कलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त सङ्कलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेले बताए ।
अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० सङ्कलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चालु आवको ९ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब रु चार करोडभन्दा कम राजस्व सङ्कलन भएको थियो । हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ ।
कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ २ हजार ३२५ वटा नयाँ लाइसेन्स, ५३१ वटा थप वर्ग, ६ हजार ३४६ रिट्रायल, २ हजार ९१ वटा लाइसेन्स नवीकरण र २ हजार ८३१ लिखितबाट राजस्व सङ्कलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, ३ हजार ४० पटके, ९०४ जाँचपास र ९६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।
Comments are closed.