ब्लुबुक र लाइसेन्स नवीकरण अनलाइनबाटै हुने

काठमाडौं । ब्लुबुक र लाइसेन्स नवीकरण लगायतका कार्य अब अनलाइनबाटै हुने भएको छ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र ब्लुबुक सम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले सो सेवा सुरु गरेको छ ।

भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने तथा नवीकरण सेवा र क्लासको व्यवस्था जस्ता सुविधा मोबाइलबाटै लिन मिल्ने गरी ई–ब्लुबुक सेवाको सुरू गरिएको हो । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अन्तर्गत अब सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सक्नेछन् ।

बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस सेवाका लागि https://edl.bagamati.gov.np/ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । त्यस्तै, ब्लुबुक क्युआर प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।

यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ । जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्युआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।

You might also like

Comments are closed.