भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितताको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चितताको घोषणा गरेको हो ।

तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गरिन् । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसुर बाँकी नरहने प्रमुख दाहालले बताइन् ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने प्रमुख दाहालले उल्लेख गरिन् ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गर्दै पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे ।

चितवनभन्दा बाहिरका बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । विशेषगरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।

यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ। भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरू समुदाय स्तरमा सञ्चालन हुँदै आएको छ ।

भरतपुर महानगरपालिकामा अन्तर्गत १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनिक, १ वटा मातृ शिशु क्लिनिक, ६ वटा आयुर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।

खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.