हिमालयन बैंकमा हबिबको ३ अर्बभन्दा बढीको शेयर बिक्री खुला

काठमाडौं । पाकिस्तानी लगानीकर्ता हबिब बैंकले हिमालयन बैंकबाट बाहिरिने प्रक्रिया पुनः सुरु गरेको छ। लामो समयदेखि नियामक सहयोगको अभावमा रोकिएको संस्थापक शेयर बिक्री प्रक्रिया अब अघि बढेको हो।

हबिबले आफ्ना २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता संस्थापक शेयर न्यूनतम मूल्य रू. ११२.८० का दरले बिक्री गर्न प्रस्ताव गरेको छ। सो मूल्यअनुसार बिक्री रकम कम्तीमा रू. ३ अर्ब १५ करोड ९८ लाख बराबर हुनेछ।

बैंकले शेयर संस्थापक समूहलाई खुला गरेको छ, र राष्ट्र बैंकको नियमन अनुसार, पहिलो चरणमा संस्थापक शेयरधनीले खरिद गर्ने अवसर पाउनेछन्। उक्त समूहलाई शेयर खरिदका लागि ३५ दिने समयसीमा दिइएको छ।

राष्ट्र बैंकमा नेतृत्व परिवर्तनसँगै हबिब बैंकको बाटो खुलेको बताइएको छ। यसअघि गभर्नर चिरञ्जीवी नेपाल र महाप्रसाद अधिकारीका कार्यकालमा प्रक्रिया रोकिएको थियो। बेलायती कमनवेल्थ बैंकदेखि कर्मचारी सञ्चय कोष तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीले पनि विगतमा शेयर खरिदमा चासो देखाएका थिए, तर प्रक्रिया सफल हुन सकेको थिएन।

हाल राष्ट्र बैंकले २ प्रतिशतभन्दा बढी संस्थापक शेयर बिक्री गर्न पूर्वस्वीकृति अनिवार्य गरेकाले सोहीअनुसार अनुमति लिई प्रक्रिया अघि बढाइएको हो।

हबिबसँग हाल करिब १३ प्रतिशत शेयर हिस्सा छ, जुन सिभिल बैंक मर्जपछि घटेर आएको हो। हिमालयन बैंकले जनाएको छ कि अब प्रक्रिया स्पष्ट मार्गचित्रअनुसार अगाडि बढ्नेछ।

You might also like

Comments are closed.