सुशीला रेग्मी/रामपुर (पाल्पा) । खेल क्षेत्रलाई विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिइएको छ ।
नगरभित्रका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई भलिबल प्रशिक्षण दिएको जनाइएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रशिक्षणको माध्यमबाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिम सञ्चालन भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले फुटबलतर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबलतर्फ विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराएर तालिम दिएको जानकारी दिए । नगरका सात सय सय बढीले प्रशिक्षणमार्फत तालिम लिएका छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरी सक्षम खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए ।
“बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो, मेयर कप सञ्चालन हुँदा धेरै बालबालिकाले अवसर नपाएकाले, उनीहरूलाई खेल सिकाउन विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौँ” नगर प्रमुख थापाले भने ।
आगामी दिनमा अन्य खेल विधालाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिने नगर प्रमुख थापा बताउँछन् । विगतमा समितिले मेयरकप अन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएपनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिएको छ । भलिबल खेलाडीलाई राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठ र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कशम मल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण दिएका हुन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलाडी उत्पादनसँगै खेल क्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । समितिले यसअघि १६० जना बालबालिकालाई कराँतेको प्रशिक्षण प्रदान गरेको थियो ।
Comments are closed.