विराटनगर । नुडल्स र स्न्याक्सका अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (ATF) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को लागि हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतामा एशियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा ATF का प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको पनि उपस्थिती रहेको थियो ।
यो साझेदारीले ATF लाई पुँजी बजारमा प्रवेश गर्न र व्यवसाय विस्तारका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ। विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सञ्चालन गर्दै आएको ATF ले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ । कम्पनीका रमपम, 2PM र प्रिती जस्ता लोकप्रिय ब्रान्डहरू आफ्ना प्रामाणिक स्वाद र सुलभताका कारण उपभोक्ताबीच विशेष लोकप्रिय छन् ।
प्रबन्ध निर्देशक महेश जाजुले भने, “हिमालयन सेक्युरिटीज बैंकरसँगको यो सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ । उनीहरूको पुँजी बजार सम्बन्धी विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ ।”
कम्पनीका अनुसार आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँटसम्बन्धी जानकारी आगामी महिनाहरूमा सार्वजनिक गरिनेछ ।
Comments are closed.